सामुदायिक बैदामको तीज सांस्कृतिक महोत्सव

पोखरा न्यूज -०३, भदौँ ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १३ औं संस्करणको तीज सांस्कृतिक महोत्सव हुने भएको छ । पोखराको हल्लनचोक स्थित क्याम्पिङचोकमा भदौ २६ र २७ गते हुने महोत्सवमा तीज गीत प्रतियोगिता एवं अन्तरसामुदायिक भलिबल प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्था अध्यक्ष एवं महोत्सव संयोजक मीना भट्टराईले बताइन।

सामाजिक विकृति–विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज महोत्सवलाई निरन्तरता दिइएको उनले बताइन् । तीज गीत प्रतियोगितामा विजयीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रथमले २१ हजार, दोस्रोले १६ हजार, तेस्रोले ११ हजार, सान्त्वनाले ५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा ३ र २ हजार रुपैयाँ दिइनेछ ।

अन्तरसामुदायिक भलिबल प्रतियोगितामा यस क्षेत्रका ८ सामुदायिक केन्द्रको सहभागिता रहने प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले बताए । कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघ सदस्य गोमा ढकालले विगतमा आफूहरुले तीजमा विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै तीजलाई भड्किलोमुक्त रुपमा मनाउनुपर्ने सुझाव दिइन् ।

संस्थापक सचिव एवं सल्लाहकार गोविन्दराज पहारी, पूर्व अध्यक्ष एवं सल्लाहकार लक्ष्मीनारायण श्रेष्ठ, सल्लाहकार देवका पहारी लगायतले विकृति विसंगति न्यूनीकरणमा कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।कार्यक्रममा बैदाम क्षेत्रका सम्पूर्ण आमा समूहहरुको विशेष सहयोग रहेको सचिव नेत्रलाल भण्डारीले बताए । संस्थाका अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष उमा रग्मी भण्डारी र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।

२०५८ सालमा स्थापित संस्थामा गत साउन १९ मा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button