कालीगण्डकी तट क्षेत्रमा कटानको जोखिम

पोखरा न्यूज -०४, भदौँ ।

केही वर्षयता कालीगण्डकी नदीमा बाढी आउने क्रम बढेर तटीय क्षेत्रमा कटानको जोखिम निम्तिएको छ । पानीको आयतन बढेपछि तटीय क्षेत्रका बस्ती सँगै विकासका पूर्वाधार कटान र डुवानको चपेटामा परेका हुन् ।

मौसम परिवर्तनका कारण मुस्ताङमा अत्यधिक वर्षा हुनु, विभिन्न ठाउँका पहिरो, सडकको ट्र्याक खोल्ने र विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा माटोको व्यवस्थापन नहुँदा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङ्जा, पाल्पा, नवलपरासी भएर नारायणीमा मिसिने कालीगण्डकी नदीमा विगतका वर्षको तुलनामा बाढीको आयतन बढेको छ ।

यसअघि न्यून मात्रामा पानी पर्ने मुस्ताङमा यस वर्ष अत्यधिक वर्षा भएको थासाङ गाउँपालिका २ कोवाङका रत्न शेरचनले बताए । उनका अनुसार जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिउँदमा कम हिउँ पर्ने र बर्खामा विगतका वर्षको तुलनामा पानी धेरै पर्न थालेको छ ।

धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीमा मुस्ताङमा सिर्जना भएको वर्षासँगैको बाढीले म्याग्दीमा आइपुग्दा कटान तथा डुवानको समस्या सिर्जना भएको हो । जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले मुस्ताङमा पानी धेरै पर्दा बाढी र नदीको सतह बढेर म्याग्दी लगायत तल्लो क्षेत्रका जिल्लामा कटान र डुवानको समस्या बढाएको बताए ।

“मुस्ताङमा धेरै पानी पर्दा कालीगण्डकीमा बाढी आउनु र सतह बढ्नु स्वाभाविकै हो,” अधिकृत पौडेलले भने – “कमजोर भूगोल भएको म्याग्दीमा बाढीको आयतन बढेर आउँदा साँघुरो ठाउँमा कटान हुने, गहिरिने र फराकिलो ठाउँमा गेगर थुप्रिएर नदीको सतह बढेको हो ।”

कालीगण्डकीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कोप्चेपानी र भुरुङ्ग तातोपानीमा क्षति गरेको छ । मुस्ताङको कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा पर्ने एउटा काठे पुललाई साउन अन्तिम हप्ता कालीगण्डकीमा आएको बाढीले बगाएको थियो।

तटीय क्षेत्रका बस्ती, सडक कटान गर्ने, पुल बगाउने जस्ता समस्या देखिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “हामीले विकास ग¥यौं कि विनाश भनेर सोच्नुपर्ने बेलाआएको छ,” अध्यक्ष पुनले भने – “भूगोल हेरेर वातावरणमैत्री विकास पूर्वाधार बनाउनुको विकल्प देखिएन ।”

निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक विस्तारका क्रममा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग र निस्किएको ढुँगा, माटो र गेगरको सुरक्षित व्यवस्थापन नहुँदा पहिरो, बाढी र कटानको समस्या बढेको अध्यक्ष पुनको भनाइ छ ।

कालीगण्डकीले कटान गरेर अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरि आधारभूत विद्यालयको छ कोठे र आमा समूहको एक वटा सामुदायिक भवन बगाएको छ । कटानको जोखिम बढेपछि दश घर परिवार विस्थापित भएका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । सडक विस्तारका क्रममा खनिएको पाखो भत्किन र लस्किन थालेपछि पहिरोको जोखिमका कारण अन्नपूर्ण गाउँपालिका ३ गुइठेका ८ र काभ्रेका ३ घर विस्थापित भएका छन् ।

कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्न थालेपछि पर्यटकीय स्थल भुरुङ तातोपानी उच्च जोखिममा परेको छ । नदीले कुण्डतर्फ धार परिवर्तन गरेको छ । कुण्डको करिब दुई सय मिटर तल रहेको एउटा मासुपसल र ब्लक उद्योगमा क्षति पु¥याएको छ। सर्वोदय माविको खेल मैदानको आधाभन्दा धेरै भाग कालीगण्डकीले बगाएको छ । सीमा प्रहरी चौकी वरपरका बासिन्दाहरु सामान सुरक्षित ठाउँमा सारेर बस्न छाडेका छन् ।

कालीगण्डकीको किनारै किनार खनिएको बेनी–जोमसोम–कोरला सडक पहिरो र कटानले छियाछिया बनाएपछि विगत एक हप्तादेखि अवरुद्ध बनेको सवारी चालक खेम कार्कीले बताए । पहिरो पन्छाउन र हिलोमा फसेको गाडी तान्न बाउसो, बेल्चा, कैंची, तार साथैमा बोकेर हिड्ने गरेको कार्कीले बताए ।

मुस्ताङको घाँसा, म्याग्दीको भुरुङ्ग–तातोपानी, बेगखोला, भिरकाटेमा कालीगण्डकीले सडक कटान गरेको छ । चमेरे, बैसरी, बेगखोला, महभिर, गुइठे, डुवाडी, घट्टेखोला, तितर, रुप्से र काभ्रेमा पहिरो खसेर सडक अवरुद्ध बनाएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए। दर्जनौं ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको यात्रा गर्न स्थानीयवासी, तीर्थयात्री र पर्यटकहरुलाई समस्या भएको छ ।

यसअघि बेनीदेखि पाँच घण्टामा जोमसोम पुगिनेमा हाल दुई दिनसम्म लाग्ने गरेको यात्रु बिशन शेरचनले बताए । खण्ड खण्डमा सवारी चलाउने यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा अशुल गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

कालीगण्डकीमा बाढी आउनुमा निर्माणाधीन बेनी–जोमसोम कोरला सडक आयोजना र ग्रामीण सडक खन्दा निस्किएको ढुङ्गा माटोको सुरक्षित व्यवस्थापन नहुनु तथा लेतेको पहिरोसमेत थप कारण भएका स्थानीयवासी र जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा र प्रदेशसभा सदस्य विनोद केसीले संसदको शून्य समयमा बोल्दै सडक खन्दा निस्किएको माटोको सुरक्षित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण  गरेका छन् ।

उनिहरुले म्याग्दीका बाढी पहिरो पीडितको राहत र भत्किएको भवन पुनःनिर्माण, सडक मर्मतमा प्राथमिकता दिन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले सडकका कारणले नभएर प्राकृतिक विपद् र पहिरोका कारण नदीमा बाढी आएर कटान भएको बताए ।

नदीमा बाढी नै आउने गरी ढुँगा माटो आयोजनाले त्यत्तिकै छाडेको उनको दाबि छ । लेतेको पहिरो र उपल्लो मुस्ताङमा भएको भारी वर्षात्का कारण बाढी आएर कटान भएको आयोजना प्रमुख सुवेदीले बताए ।

जलवायु परिवर्तनको असर र जोखिम न्युनीकरण, पहिरो नियन्त्रण, वातावरणमैत्री सडक र ढुँगा माटो व्यवस्थापनमा ध्यान दिनुपर्ने र तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने भू–संरक्षण अधिकृत पौडेलले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button