पोखरा महानगरपालिकाले किन एकिकृत सम्पत्ति करमा बढी राजश्व लियो त ?

दीननाथ बराल, पोखरा न्यूज -०४, भदौँ ।

पोखरा महानगरपालिकामा गत बर्ष ३ सय ६० रुपैया एकिकृत सम्पत्ति कर बुझाएका एक सेवाग्राहीले यस बर्ष करिब ५ गुणा बढी राजश्व तिरेका छन। पोखरा महानगरपालिका १८ र ६ वडामा गरी एउटा घर सहित ६ रोपनी क्षेत्रफलको गोविन्द तिमिल्सिनाले यस बर्ष महानगरपालिकामा एकिकृत सम्पत्ति कर को १ हजार ८ सय ५० रुपैया राजश्व तिरेका हुन। तिमिल्सिना एक उदाहरणका पात्र मात्र हुन । उनी जस्ता धेरै सेवाग्राहीहरुले गत बर्षको तुलनामा महानगरपालिकाले आफुहरुको ढाडै सेक्ने गरी राजश्वमा बृद्धि गरेको आरोप लगाउदै आएका छन। पोखरा महानगरपालिका क्षेत्रको घर जग्गाको मुल्याङकन बढेसंगै जनताले राजश्वको भार बढेको महशुस गरेका छन ।

पोखरा महानगरपालिकाका लेखा अधिकृत कर शाखा प्रमुख छविलाल शर्मा तिमिल्सिनाले महानगरपालिकाले यस बर्ष पनि राजश्वमा बृद्धि नगरेको दाबी गरे । उनले भने “ महानगरपालिकाले यस बर्ष पनि घर जग्गा एकिकृत सम्पत्ति करमा एक रुपैया पनि बढाएको छैन, यसमा मालपोत कार्यालयले यस बर्ष घर जग्गाको मुल्याङकन बढेसंगै मुल्य बढेका आधारमा कर बढी तिर्नुृ परेको हो । ” मालपोत कार्यालयले गरेको मुल्याङकनको आधारमा ५० प्रतिशत मात्रै मुल्याङकन गरि आफुहरुले राजश्व लिने गरेको उनले बताए । उनका अनुसार महानगरपालिका क्षेत्रमा करिब ३० देखि ५० प्रतिशत जसो घर जग्गाको मुल्य बढाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला मालपोल कार्यालयका प्रतिनिधि सहितको एक टोलीले पोखरा महानगरपालिकाको घर जग्गाको मुल्याङकनमा करिब ३० देखि ५० प्रतिशत बृद्धि गर्दा महानगरमा तिर्ने करको भार बढेको स्थानियले गुनासो गरेका छन ।

मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डेले समय सापेक्ष आफुहरुले विभिन्न वडाका प्रतिनिधिहरुसंग बसेर छलफल गरी महानगरपालिका भित्र करिब ३० देखि ५० प्रतिशत र कास्कीका ४ वटा गाँउपाालिकामा भने न्यूनतम ८ देखि शतप्रतिशतसम्म मुल्याङकन बढाएको बताए । उनले भने “ हामीले यसरी घर जग्गाको मुल्याङकन ह्वात्तै बढाउनु त्यती उचित त होइन तर पनि हाम्रो क्षेत्रमा घर जग्गालाई नै पुंजीको रुपमा प्रयोग गर्दै आएको परम्परागतले गर्दा यसो हुन गएको हो । ” गाँउ बस्तीमा विस्तारै बस्ती बढेसंगै सुविधा पुगेसंगै तथा गाँउहरुमा होटल रेष्टुरेण्ट एवं जलबिद्युत आयोजना संचालन भएको आधारमा पनि आफुहरुले त्यस क्षेत्रको जग्गाको मुल्य बढी तोकिएको प्रमुख पाण्डेले बताए । उनले भने “ मालपोल कार्यालय सहितको टोलीले घर जग्गाको मुल्याङकनको आधारमा महानगरपालिकाले ५० प्रतिशत मुल्याङकन गरी राजश्व संकलन गरेकोमा यसमा महानगरपालिकाले आफै विचार पनि गर्न सक्छ ।”

एकिकृत सम्पत्ति कर पुष मसान्तर भित्र बुझाउदा महानगरपालिकाले १० प्रतिशत छुट दिएको छ । बक्यौत करमा २ प्रतिशत जरिवना, करदाताले झुटा विवरण दाखिल गरेमा १० प्रतिशत जरिवानाको समेत व्यवस्था रहेको कर शाखा प्रमुख तिमल्सिनाले जनाए । महानगरपालिकामा १ लाख देखि ५ लाखसम्मको घर जग्गाको एकिकृत सम्पत्ति करमा एक सय रुपैया मात्र तिरे पुग्छ । त्यस्तै ५ लाख देखि १० लखसम्म २ सय, १० लाख देखि १५ लाखसम्म तीन सय, १५ लाख देखि २० लाखसम्म ४ सय, २० लाख देखि ३० लाखसम्म ७ सय, ३० लाख देखि ४० लाखसम्म १ हजार २ सय, ४० लाख देखि ५० लाखसम्म २ हजार, ५० लाख देखि ७० लाखसम्म ३ हजार ५ सय, ७० लाख देखि १ करोडसम्म ६ हजार, १ करोड देखि १ करोड २५ लाख सम्म १२ हजार त्यसै गरी ४ करोड देखि ५ करोडसम्म ५५ हजार राजश्व तिर्नुपर्ने हुन्छ । त्यस्तै ५ करोड देखि माथि प्रति हजार २ रुपैया राजश्व संकलन गर्ने गरेको छ । पोखरा क्षेत्रमा एकिकृत सम्पत्ति करको राजश्व बृद्धि भएकोमा पोखरेलीहरुले बिरोध जनाउदै आएका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button