नेपालले मलेसियालाई हरायो, छनोट हुने सम्भावना जीवितै

पोखरा न्यूज- १६, भदौ ।

एसिया कप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा घरेलु टोली मलेसियालाई १९ रनले हराउँदै नेपालले छनोटको सम्भावना जीवित राखेको छ ।

आज वायुमास ओभलमा वर्षाले प्रभावित खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्यो । ३०-३० ओभरमा घटाइएको खेलमा फेरि एक पटक नेपाली ब्याटिङको अग्रपंक्ति धराशायी बन्न पुग्यो । नेपालले १२.५ ओभरको खेल हुँदा ६० रन बनाएर ५ विकेट गुमाइसकेको थियो । नेपालका ओपनर सुवास खकुरेल ९(८) र अनिल शाह १६(३३) रन बनाएर आउट हुँदा कप्तान पारस खड्का पनि गुमेको लय भेटाउन सकेनन् । पारसले १३(११) रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ११(२०) रनको झिनो स्कोर मै पवेलियन फर्किए । तर त्यसपछी भने नेपाललाई पछिल्लो समय आशलाग्दो भर देखाएका मध्यक्रमका दिपेन्द्र सिंह र आरिफ शेखले १०१ रनको साझेदारी गर्दै पारीलाई सम्हाले । दीपेन्द्रले ५४(५१) रन बनाए भने आरिफ सेख ६४(४८) रनमा अविजित रहे । निकै भरपर्दो ब्याटिङ गरेका दुबैको योगदानले नेपाल निर्धारित ३० ओभरमा १८८ रनको सम्मानजनक स्कोर सम्म पुग्यो ।

प्रतिउत्तरमा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । नेपाली बलरले निरन्तर विकेट लिँदा मलेसियाका एकाध खेलाडी खेल आफ्नो तर्फ ढल्काउन प्रयास गरे पनि असफल रहे । मलेसियाका अन्वर अरुदिनले ३४(४०) र सैद अजिजले तेज ३४(२५) रन बनाए पनि गलत समयमा आउट हुन पुगे । नेपालका लागि वसन्त रेग्मीले ३ तथा सन्दिप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिए ।

अब दुई खेल बाकिँ रहेको स्थितिमा नेपालले छनोटको कुनै सम्भावना जीवित राख्न आफ्नो दुवै खेल जित्नै पर्ने हुनेछ । नेपालले अब सिङ्गापुर र हङकङसँग खेल्नेछ । आजै हङकङ र ओमानले पनि आ-आफ्नो खेल जित्दा अङ्कतालिकाको समीकरण रोचक बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button