लमजुङमा बाढीले २ व्यक्ति, ३ मोटरसाइकल, ट्र्याक्टर र घर बगायो

पोखरा न्यूज- २७, भदौ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढीले एउटा ट्र्याक्टर सहित दुई घर बगाएको छ । मस्र्याङ्दी–४ ताघ्रिङको रामबजारस्थित जीतबहादुर गुरुङ र दमै गुरुङको घर आज अपराह्न बगाएको हो ।

लमजुङ–मनाङ सडकखण्डअन्तर्गत पर्ने सो खोलामा आएको बाढीले घर नजिकै पार्किङ गरिराखेका एउटा ट्र्याक्टर र तीनवटा मोटरसाइकल पनि बगाएको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिए । बाढीका कारण रामबजारमा रहेको विनु गुरुङको घर जोखिममा परेको छ ।

यस्तै माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको कार्यालय र अन्य घर पनि जोखिममा रहेका स्थानीवासीले बताएका छन् । तीन दिनअघि देखि परेको अविरल वर्षाका कारण लमजुङका अधिकांश स्थानमा बाढी र पहिरोको जोखिम भएको छ । ठाउँठाउँमा गएको पहिरोको कारण बेशीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा तत्काल घटनास्थल पुग्नसक्ने अवस्था नरहेको प्रजिअ झङ्कनाथ ढकालले बताए । बाढीका कारण अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ ।

यसैगरी दोर्दी जलविद्युत् आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङ्दीले बगाएको छ । बेशीशहर नगरपालिका–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्षमण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो ।

मस्र्याङदी किनारमा रहेको दोर्दी पावर हाउसमा काम गर्दै गर्दा एक्कासि बाढी आएपछि उनीहरुलाई नदिले बगाएको थियो । नदीले बगाएका दुईजनाको नाम यकिन भए पनि उनीहरुको ठेगाना स्पष्ट नभएको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

अविरल वर्षा र नदीको ठूलो भेलले गर्दा खोजी कठिन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button