संस्कृत पढाइ पर्वतको कुश्मामा, प्रमाणपत्र भारतमा

पोखरा न्यूज- २८, भदौ ।

पर्वत जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ ।

संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै आएको भएता पनि उपल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो ।

विसं २०५५ मा स्थापना भएको पाठशालालाई २०५८ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतले प्राथमिक तह (कक्षा १–५) सम्मको मान्यता स्वीकृत दिएको थियो भने २०६९ देखि कक्षा ६ को स्वीकृत प्रदान गरेको थियो । तर पाठशालामा हाल कक्षा ४, ५ र ६ को मात्र पढाइ सञ्चालन हुने गरेको छ ।

जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको एकमात्र संस्कृत विद्यालयप्रति तत्कालीन जिल्ला शिक्षा कार्यालयअनुसार भएकै कारण उपल्लो कक्षाको स्वीकृति दिन आनाकानी भएको स्थानीयको गुनासो रहेको छ । “कक्षा १० सम्मको अनुमति मागेका थियौँ तर कार्यालयले दिन आनाकानी र बहानामात्र गरिरह्यो ।” कुश्मा–५ निवासी कमलनाथ पोख्रेलले भने, “जिल्लाको गहनाका रुपमा रहेको संस्कृत पाठशालालाई स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारमा ध्यान दिनसक्ने हो भने संस्कृत पठनपाठनमा रुची भएका विद्यार्थीसमेत बढ्ने थिए ।”

“कक्षा १० सम्मको अनुमति मागेको भए पनि बल्लतल्ल कक्षा ६ सम्म अनुमति पाइएको छ ।” संस्कृत पाठशालाका गुरु पद्मराम उपाध्यायले भने, “पुराना शिलालेख, ऐतिहासिक दस्तावेज समेत संस्कृत भाषामानै हुने भएकाले संस्कृत शिक्षाका लागि राज्य उदासीन हुनुहुँदैन ।” उनले थपे, “नेपाली भाषा, हिन्दी भाषासमेत संस्कृत भाषासँग परिपूरक छन् । त्यसैले सबै भाषाको जगेर्ना गर्ने बेला भइरहेको र अत्यावश्यक भाषालाई संरक्षण गर्नु राज्यको दायित्व हो ।”

– राजु पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button