म्याग्दी- ८ कुइनेमङ्गलेमा विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प

बाढी पहिरोका कारण ३  करोड बराबरको भौतिक सम्पत्तिको क्षति

पोखरा न्यूज- ३१, भदौ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ ।

यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो । पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले दुई हप्ताका लागि पठनपाठन बन्द गरिएको प्रअ खिमबहादुर छन्त्यालले बताए । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ ।

बाढी पहिरोका कारण एकजना महिलाको ज्यान जानाका साथै रु तीन करोड बराबरको भौतिक सम्पत्तिको क्षति भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । बाढीले कटान गरेर कुइनेमङ्गलको खरिबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ भने बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तिप्रसाद विकको घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगङ्गाको किनारमा अवस्थित घ्याँसीखर्कका १६ घर जोखिममा परेको छ ।

सहारा युवा क्लबको भवन र खेलमैदान बाढीले पुरिएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । स्वास्थ्य चौकी भवन निर्माणस्थलमा बाढी परेर क्षति पु¥याएको छ । छहरीका दुई घर जोखिममा परेका छन् । पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत् आपूर्ति बन्द भएको छ । बाढी, पहिरो र कटानका कारण खेतीयोग्य जमीनमा समेत क्षति पुगेको पीडित चन्द्रबहादुर छन्त्यालले बताए। “घरमा भएको सबै सामान बाढीले बगायो, एकसरो ज्यानबाहेक केही रहेन,” छन्त्यालले पीडा पोखे ।

दुईवटा काठको अस्थायी पुल बाढीले बगाउँदा आवतजावतमा कठिनाइ भएको छ । छहरीस्थित शिवालय मन्दिर बाढीले बगाएको छ । झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले पुरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button