पर्यटनलाई उद्योगको रुपमा विकास गर्छौ : अधिकारी समूह

पोखरा न्यूज- ३१, भदौ ।

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्यानल नै घोषणा गरेको दामु अधिकारी नेतृत्वको समूहले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको छ ।

समूहले आइतबार घरदैलोका क्रममा गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन भएकाले यसलाई उद्योगको रुपमा विकास गरेर लक्ष्य हासिल गर्न सकिने भन्दै त्यसको नेतृत्व आफूहरुले गर्ने बताएको हो ।

आइतबार विहान बिजयपुरबाट शुरु गरेको घरदैलो चाउथे, औद्योगिक क्षेत्र, लेकसाईडको हल्लनचोक, वराहीचोक, जरेवर लगायतका क्षेत्रमा संचालन गरिएको थियो । सो क्रममा बोल्दै अध्यक्षका उम्मेद्वार दामु अधिकारीले भने,‘हाम्रो गण्डकी प्रदेशको समृद्धीको मूख्य आधार भनेको पर्यटन नै हो, गण्डकी प्रदेश सरकारले पनि यसैलाई पहिलो प्राथमिकतामा राखेको छ, तर यसलाई उद्योगको रुपमा विकास गर्न सकेमात्र लक्ष्य हासिल गर्न सकिन्छ, हामी पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने पक्षमा छौं, हामी बिजयी भयौं भने यसको नेतृत्व गर्नेछौं ।’

उनले करका कारण व्यवसायी आतंकित भएको बताउँदै व्यवसायीमैत्री कर लागू गर्नका लागि पनि आफ्नो समूहले दवाब दिने र त्यसो गर्दापनि सुनुवाई नभए आन्दोलनको नेतृत्व गर्नपनि पछि नपर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा महासचिवका उम्मेद्वार किसान सुनारले पोखरामा पार्किङको पनि समस्या भएको बताउँदै त्यसको समाधानका लागि समावेशी व्यवसायी समूहले बिजयी भएपछि काम गर्ने बताए ।

समावेशी समूह भनिएको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button