करिब ७ अर्ब लागतमा पोखरा-पञ्चासे केबलकार निर्माण हुने

पोखरा न्यूज- ३, असोज । 

कास्की, स्याङ्जा र पर्वतको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेमा केबलकार पुग्ने  भएको छ । पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो ।

पोखराबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्न  केबलकार  निर्माणको प्रक्रिया अघि बढाएको  पञ्चासे टुर्स एन्ड ट्राभल रआरकेडी रियल स्टेट कम्पनीले जनाएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको  झण्डै ८.५ किलोमिटर दुरीमा ८० पोल रहने गरि आयोजना पुरा  गर्न करीब रु ७ अर्ब लाग्ने अनुमान गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । चार वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको बताउदै शर्माले केबलकार निर्माण गर्न विस्तृत सर्वेक्षणको कार्य भइरहेको  जानकारी दिए।

समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासेमा अहिले आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता पर्यटकलाई छ ।

पञ्चासे पुग्ने पर्यटकका लागि पोखराबाट पामे हुँदै र पर्वतको कुश्माबाट आर्थर हुँदै भञ्ज्याङ्गसम्म कच्ची सडकको सुविधा छ । त्यहाँ जाने पर्यटकलाई आधार बनाएर पोखरा महानगरको भदौरे, सिदाने, कुबिडाँडालगायतका स्थानमा घरबास सञ्चालनमा छन् । पर्वतको कुश्मा नगरपालिका– १४ आर्थर डाडाँखर्क र मोदीगाउँपालिका वडा नं ८ चित्रेमा पनि घरबास सुविधा सञ्चालनमा रहेको छ ।

केबलकार सञ्चालन सँगसँगै घरबास सञ्चालित गाउँको पर्यटन प्रबर्धन  लागि विभिन्न आयोजना रहेको शर्माले बताए । केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्धारलगायतका योजना बनाएको कम्पनीले जनाएको छ ।

पर्वत, स्याङजा, पोखरा, चितवन, काठमान्डौ लगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी तथा शिक्षक यहाँ आउने गरेका छन् । पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका गुनासो पर्यटकको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button