भोलिको पत्रिकामा विज्ञापन छापिदिनुस् न

शुब्रत ढकाल, पोखरा न्यूज ।

मोबाईलको घन्टी बज्यो । कल रिसिभ गरेपछि उता बाट आवाज आयो , ” हजुर यो  फलानो मिडिया हो?” मैले जवाफ फर्काए , “हो हजुर, हामी कसरी सेवा गर्न सक्छौँ ?” उताबाट आवाज आयो, ” भोलिको पत्रिकामा हाम्रो विज्ञापन छापिदिनुस् न !” मैले भने ,” हाम्रो त अनलाइन मात्र हो । पत्रिका हैन ।” त्यसो भए सरी है भन्दै उताबाट फोन काटियो । दिनहुुँ आईरहने थुप्रै यस्ता कलहरुको यो एक प्रतिनिधि संवाद मात्र हो । काठमाडौं, बुटवल, चितवन लगायत देशका विभिन्न भागबाट आइरहने यस्ता कलहरु कि यसरी नै,  कि अधुरै, कि आसपासका पत्रिकाको इन्क्वारीसँगै समाप्त हुन्छन ।

इन्टरनेटको व्यापक पहुँच सँगै हातहातमा पुगेका अनलाइन पत्रिका आउँदो विश्वको नयाँ पत्रिका बन्ने अवश्यम्भावी देखिन्छ । प्रविधिको विकास र यसले पुर्याएको सहजतासँगै अबको समय अनलाईन मिडियाकै प्रभुत्व रहने कुराको जो सुकैले अड्कल काट्न सक्छ । तर नेपालको परिप्रेक्षमा भने अनलाइन  र पेपरको टक्कर अझै चाखलाग्दो नै छ । नेपाली अनलाइन सञ्चारका क्षेत्रमा आश लाग्दो प्रगति भएपनि समाचारको लागि होस् या विज्ञापनका लागि नेपाली जनमानसमा पत्रिकाको गहिरो छाप अझै रहेकै छ । नेपाली अनलाइन संचार क्षेत्रको असक्षमता भनौँ या नेपाली समाजको परिवर्तन प्रतिको अरुची अझै पनि हात हातमा मोबाइल बोकेर आफ्नो विज्ञापन प्रकाशन गर्न पत्रिका धाउनेको लस्कर लामै देखिन्छ ।

आफ्नै हातको मोबाइलमा विदेशी कम्पनीका विज्ञापन बज्दै गर्दा हामी भने इन्टरनेटको विज्ञापनको अथाह सागर देखि बेखबर नै रहेको देखिन्छ । तुरुन्तै सम्प्रेषण हुने खबर होस् वा डिजिटल प्रकाशित हुने विज्ञापन, यी सबै परम्परागत संचारका साधन भन्दा प्रभावकारी अनलाइन मिडियाका देन हुन् । मल्टिमिडियाका सहयोगले बनाइने डिजिटल विज्ञापन छाडेर पत्रिकाको एउटा  कुनामा विज्ञापन छाप्नका लागि आफुले गुगल तथा सोसल साइटमै तपाइको न्यूज रेगुलर पढ्छु भन्दै अनलाइन मिडिया छाडेर आशपासका अन्जानका पत्रिका भए सम्पर्क नम्बर दिनुस् न भनेर माग्ने हाम्रो काइदा देख्दा ईन्टरनेट युग भने हामी देखि अझै धेरै टाढा भए झै लाग्छ ।

हुनत अनलाइन मिडियाका कमजोरी पनि नभएका हैनन् । तर च्याउसरी खुलेका मिडियाले छाप्ने अनर्गलका प्रचार र सस्तो लोकप्रियता कमाउन गरेका गरेका कुकार्यहरुले सम्पूर्ण अनलाइन मिडियालाई नै धुमिल मान्नु पर्ने कारण भने छैन । न त खराब काम गर्ने एकाध मिडियाले अबको भविष्यलाई बदनाम नै गर्न सक्नेछन् ।

सर्भाइभल अफ दि फिटेस्ट र नेचुरल सेलेक्सनले काम गर्दै जाँदा बिस्तारै जिम्मेवार अनलाइन  मिडिया र विश्वसनीय वातावरण तयार हुँदै जानेछ भन्नेमा चाहिँ दुई मत छैन तर अनलाइन मिडियालाई एउटा सक्षम, समय सापेक्ष अनि जिम्मेवार संचारको माध्यम बन्न सबै क्षेत्रको सानो सहयोग भने अपरिहार्य नै देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button