म्याग्दीमा हिमाल आरोहणमा गएका ४ नेपाली सहित ९ जनाको मृत्यु

पोखरा न्यूज -२७, असोज ।

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गूर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ । गूर्जा हिमाल आरोहणमा गएका हिमपहिरो र आँधीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

९ जना मध्ये ८ को शव शनिबार बिहान फेला परेको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरबहादुर बुढामगरले बताए । ५ विदेशी, ४ जना नेपालीसहितको टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेर शुक्रबार बेपत्ता भएका थिए।  दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वको ५ जना कोरियन नागरिक गूर्जा हिमाल आरोहणमा गएका थिए । हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभाका ३९ वर्षीय छिरिङ भोटे, २१ वर्षीय लाक्पा सोङवु भोटे र फुर्वु भोटे तथा स्थानीय गुर्जाका नेत्रबहादुर छन्त्यालको पनि हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दक्षिण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङ मो जियोङको मृत्यु भएको बताइएको छ  । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट  गुर्जा हिमाल चढ्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बुढा अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा नेपाली भरिया गुर्जा गाउँकै बासिन्दा थिए ।  उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएकोमा उनीहरुले  टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु देखेपछि  शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ  । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन गरिएको  डिएसपी बुढामगरले बताएका छन् ।

केहीको शव टेन्टभित्र र केहीको शव टेन्ट बाहिर भेटिएको छ । घटनास्थल पुगेर फर्किएका गुर्जाका श्रीप्रसाद छन्त्यालका अनुसार शवहरु क्षत विक्षत् अवस्थामा छन् भने टेन्टहश्र यत्रतन्त्र छरिएका छन् । सिम्रक एयरको हेलिकप्टरबाट उनीहरुको शव ल्याउन तयारी गरिएपनि खराब मौसमका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको प्रदेश प्रहरी प्रहरी कार्यालय गण्डकीका प्रमुख, डिआइजी दानसिंह बोहराले जानकारी दिए  ।

शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको हो । मौसममा सुधार भएपछि पुनः हेलिकोप्टर पठाइने  बोहराले बताए । दुर्घटनास्थल पुग्न बेनीदेखि ४ घण्टा गाडी र ८ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप ५ घण्टा हिड्न पर्दछ ।

२०६५ सालमा चुरेन हिमाल आरोहण भएपछि त्यसयता पहिलोपटक यो टोली हिमाल आरोहणका लागि आएको थियो । एक दशकपछि हिमाल आरोही लागि आएको पहिलो टोली नै हावाहुरीले दुर्घटनामा परेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button