दशैंमा पोखरा क्षेत्रको व्यापारमा ७० प्रतिशत सम्म वृद्धि

डीएनबी / गणेश बराल, पोखरा न्यूज – २४, असोज ।

पोखरा महानगर क्षेत्रमा दशैको बेला व्यापार ब्यबसाय चरम अवस्थामा पुग्ने गरेको पाइन्छ । अन्य समयको तुलनामा पोखरा क्षेत्रमा दशैँको अवसरमा हुने ब्यापारमा औसतमा ४० प्रतिशतले वृद्धि हुने गरेको ब्यबसायीहरु बताउछन्।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले दशैंको अवसरमा पोखरा क्षेत्रको व्यापार ब्यबसाय निकै फस्टाउने गरेको  बताउछन्  । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गरिने  लत्ता कपडा, यातायातका साधन, इलेक्ट्रोनिक सामाग्री  र मासुजन्य पदार्थको खरिद बिक्रिका कारण  पोखरामा क्षेत्रको व्यापार हरेक वर्ष उच्चतम बिन्दुमा पुग्ने अधिकारी बताउछन्। समग्रमा यो बेला पोखरा क्षेत्रको ब्यापारमा ३० देखि ४० प्रतिशत सम्म वृद्धि हुने गरेको उनको भनाई छ ।

अटोमोबाइलको ब्यापारमा  ७० प्रतिशतले वृद्धि

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्षमा मोहनबाबु खड्काले दशैंको बेलामा अटोमोबाइलको ब्यापार करिब ७० प्रतिशतले वृद्धि हुने गरेको बताउछन् । कम्पनिहरुले यस समयमा ल्याउने विशेष छुट तथा उपहारका योजनाले ग्राहकहरु अधिकतम मात्रामा तानिने गरेको खड्काको भनाई छ। कम्पनीहरुले दशैंकै बेला प्रदान गर्ने साटफेर योजनाले पनि कारोबारमा अत्याधिक वृद्धि हुने गरेको खड्काले जनाए । दशैंलाई शुभबेला मानिने भएकाले समेत धेरैले दशैंमा गाडी किन्ने गरेको उनि बताउछन्।

लत्ताकपडाको व्यापारमा ३० देखि ४० प्रतिशतले वृद्धि 

दशैंमै नयाँ लत्ताकपडा लगाउनुपर्छ भन्ने मान्यता परिवर्तन भएतापनि पोखरा क्षेत्रमा फेन्सि जन्य सामग्रीको व्यापार दशैंमा अरुबेला भन्दा उल्लेखनीय रहने गरेको पाइन्छ । दशैको लागि भनेर साचेको होस् अथवा  ऋण धनको होस्  मान्छेको खल्तीमा कुनै न कुनै कारण पैसा हुनेहुँदा  फेन्सिजन्य सामग्रीको खरिद बिक्रि यतिबेला अरुबेला भन्दा ३० देखि ४० प्रतिशतले बढी हुने फेन्सी तथा रेडिमेड ब्यबसायी संघ कास्कीका सचिब यादब पोखरेल बताउछन्। फेसनेवल लत्ताकपडाका कारण मनिसले दशैंमा कपडा किनेर वर्ष भरि लगाउने चलन हटेकाले अहिले  २/४ वर्ष अगाडीको तुलनामा ब्यापारमा गिरावट आएको भएतापनि अरु बेलाको तुलनामा दशैंमा लत्ताकपडाको व्यापार उच्च रहने पोखरेलले जनाए । पोखरामा दशैँको बेला  दैनिक होलसेल ब्यबसायीवाट रु १० करोड ८० लाख र खुद्रा ब्यबसायीबाट रु ७ करोड ५० लाख गरि रु १८ करोड ३० लाख बराबरको फेन्सि जन्य सामग्रीको बिक्रिवितरण हुने पोखरेलको भनाई छ । उनका अनुसार यस क्षेत्रमा होलसेल र खुद्रा गरि  २ हजार देखि २ हजार ५ सय को हाराहारीमा फेन्सी ब्यबसायीहरु रहेका छन् ।

मोवाइल तथा उपकरणको कारोबारमा १० देखि २० प्रतिशतले वृद्धि

दशैं तिहारको अवसरमा इलेक्ट्रोनिक सामग्री, मोवाइल तथा उपकरणको कारोबारमा पनि वृद्धि हुने गरेको पाइएको छ । दशैंमा रेमिटेन्स मार्फत पैसा पठाउने चलन, सरकारी तथा केहि निजि क्षेत्रमा दशैं भत्ता दिने चलन तथा स्किमका कारण दशैंमा मोबाइल तथा तिनका पार्टपुर्जाको कारोबारमा अन्य बेला भन्दा १० देखि २० प्रतिशतले वृद्धि हुने गरेको नेपाल मोबाइल वितरक संघ गण्डकी क्षेत्रका अध्यक्ष शिब राज पहारी बताउछन् । गण्डकी क्षेत्रमा अन्य समयमा मासिक १० करोड मूल्य बराबरको मोबाइल तथा उपकरण बिक्रि वितरण हुने गरेको र दशैंको बेला यो बढेर १२ करोड सम्म पुग्ने पहारीको भनाई छ । मोबाइल मात्र नभएर दशैं तिहारमा सजिसजावट तथा मनोरन्जनका इलेक्ट्रोनिक्स सामाग्रीहरुको बिक्रि वितरण बढ्ने गरेको उनि बताउछन् ।

खसी, भेडा / च्याङ्ग्राको ब्यापारमा  करिब ७० प्रतिशतले वृद्धि

दशैंको अवसरमा पोखरा क्षेत्रमा मात्र खसी भेडा तथा च्याङ्ग्राको मासुको ब्यापारमा  करिब ७५ प्रतिशतले वृद्धि हुने गरेको बताइन्छ । मुस्ताङबाट यस बर्ष १६ हजार ७ सय वटा भेडा च्याङग्रा बाहिरिएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी अन्र्तगत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुषाल बताउछन् । उनका अनुसार भेडा तथा च्याङ्ग्रा ९ सय २५ वटा नेपाल खाद्य संस्थानले काठमाण्डौंको लागि लगे पनि बाँकी अधिकाशं पोखरा क्षेत्रमै खपत हुने गरेको छ । च्याङ्ग्राको मासुको ब्यापार यस क्षेत्रमा दशैं तिहारमा मात्र (शत प्रतिशत)  हुने गर्दछ । कास्की खसि वोका व्यवसाय संघले करिब ८ हजार खसि वोका दशैको लागी पोखरा भित्राउदैछ । संघका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठका अनुसार यस बर्षको दशैं पर्वलाई लक्षित हुने गरी कास्की सहित तनहुँ, पाल्पा, सुर्खेत, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रबाट करिब ८ हजार खसि वोका भित्रिदैछन। यो संख्या अन्य समयको तुलनामा ४० देखि ५० प्रतिशतले बढी रहेको उनि बताउछन्।

अन्य खाद्य पदार्थको बिक्रि वितरणमा पनि  उल्लेख्य वृद्धि

सहारा फुट्स प्रालिका हरिशंकर अग्रवाल तिज पर्व देखि मुस्ताङ क्षेत्रबाट स्याँउ पोखरामा आउन थालेपनि  दशैं पर्वमा अधिकतम मात्रामा खपत हुने बताउछन्। दशैं पर्वमा पोखरा क्षेत्रमा आलु, प्याज, लसुन, मसला, पेय पदार्थ लगायत  विभिन्न स्वदेशी तथा  विदेशी ब्राण्डका  रक्सिहरुको बिक्रि वितरणमा उल्लेख्य वृद्धि हुने गरेको ब्यबसायिहरु बताउछन्।

दशैं सँगै पर्यटन क्षेत्र उकालो लाग्दै

दशैको बेला पोखरा क्षेत्रमा आन्तरिक पर्यटकको खासै चहलपहल नहुने भएतापनि दशैं लगतै  पोखराका होटल तथा रेस्टुरेन्टको कारोबारमा पनि वृद्धि हुदै जाने पर्यटन ब्यबसायी बताउछन् । यद्यपि धार्मिक पर्यटन भने दशैको बेला फस्टाउने गरेको व्यवसायीको  भनाई छ । बाह्य पर्यटकका लागि भने यो समय उपयुक्त समय मानिन्छ ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष एवं रेवान पोखराका पुर्व अध्यक्ष गोपी बहादुर भट्टराईले नेपालीहरुको महान पर्व दशैंको अवसरमा पर्यटकीय स्तरिय अधिकाशं रेष्टुरेण्टहरुमा थोरै जनशक्तिले धेरै खाजा तथा खाना बनाउर दिन सक्ने गरी आफुहरुले पहिलाको मेनुमा थोरै परिवर्तन गरी मेनु साइज घटाउने गरेको बताउछन् । कर्मचारीहरु अधिकाशं बिदामा बस्ने भएको हुनाले आफुहरुले मेनु साईज घटाउदै थोरैजनाले धेरैलाई छिटो छरितो ढंगले सेवा दिन लागिपरेको उनको भनाइ छ । पछिल्लो समयमा  नेपालीहरुको पश्चिमेलि खाना सहित चाइनिज र कोरियन खानामा चासो बढेको उनि बताउछन् । इटालीयन, पिज्जा, स्पाकेटी, चिकेन सिजलस लगायतका खानामा विदेशी देखि स्वदेशीले समेत बढी मन पराउने गरेको उनले जनाए । केहि आन्तरिक पर्यटकहरुले दशैंमा विशेष गरी हिमालपारीका जिल्लामा उत्पादन हुने गरेका भेडा च्याङग्रा, स्याँउ, आलु लगायतका खाने कुराको पोखरामा खोजि गर्न थालेको  भट्टराईले जनाए । पोखरामा आन्तरिक संगै एसियन मुलुकका पर्यटकहरु बढी आउन थालेको उनको भनाइ छ  ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बडादशैंमा प्रायः गरी पर्यटनकै सिजन हुने हुनाले आफुहरुले पर्यटकहरुको लागि विभिन्न प्याकेज खासै नल्याएको बताउछन् । पर्यटनको सिजनमा  होटलहरुको अकुपेन्सि करिब ८० प्रतिशतसम्म पुग्नु पर्नेमा हाल करिब ४० प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ ।  पोखरामा पर्यटकीय स्तरका होटल प्रति रुम मूल्य करिब ८ सय देखि अधिकतम १२ हजार सम्मका रहेका छन। केहि होटलहरुले पर्यटकहरुलाई आकषर्ण गर्न प्याकेज वा छुट दिने गरेको अध्यक्ष तुलाचन बताउछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button