तनहुँको पर्यटकीय केन्द्रविन्दु बन्दै कालिका शहीद शान्ति पार्क

पोखरा न्यूज -२८, असोज ।

तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ ।

सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण गरिएको छ ।

यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लागिपरेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठ बताए  ।

पार्कको वृहत्तर विकासका लागि गुरुयोजनासमेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ ।
गुरुयोजनाअनुसार मन्दिर बाहेकका अन्य संरचना निर्माणमा करीब रु चार करोड ८५ लाख १५ हजार ७७६ बजेट आवश्यक पर्ने समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताए । विसं २०६३ भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । हाल उक्त मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ ।

आर्थिक वर्ष २०७४-७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान, सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार इँट्टा, मूर्ति खरिदलगायतका काम भएको छ । पार्क स्थापना भएदेखि हालसम्म पार्कको विकासका लागि रु दुई करोड ३७ लाख २२ हजार ८५६ प्राप्त भएको र रु दुई करोड ३४ लाख तीन हजार ४२३ खर्च भएको कोषाध्यक्ष रानाले जानकारी दिए । जसअनुसार मन्दिर निर्माणमा रु एक करोड १० लाख ३८ हजार ६६८, पिकनिकस्थल निर्माणमा रु १६ लाख एक हजार ४८५, खानेपानी व्यवस्थापनमा रु १० लाख ९३ हजार ५५२, रिटेनिङवालमा रु ७८ लाख १६ हजार ३६३ खर्च भएको छ ।

व्यास नगरपालिका–४ का वडाध्यक्ष एवं पार्कका पूर्व महासचिव विश्व न्यौपाने दमौली बजारलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन यस पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौलीको परिचय स्थापित यस ठाउँले गर्ने भएकाले नगरपालिकाले सदैव यसको विकासमा सहयोग गर्ने बताए । उनले गुरुयोजनाअनुसार काम गर्दै गए यसलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउन सकिने बताए  ।

तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ पार्क दमौलीको मात्र नभई तनहुँकै धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने बताए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस ठाउँलाई एक सय नयाँ गन्तव्यभित्र पारेको जानकारी दिदै यसलाई गुरुयोजनाअनुसार विकास गर्दै जाने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button