तनहूँको व्यास गुफामा महामिलन हुँदै

पोखरा न्यूज -२८, असोज ।

चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहूँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ ।

वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म(एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाकानुसार विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउँदै व्यास क्षेत्रलाई विश्वकै वेद पूजनको मुख्यस्थल घोषणा गरिने छ ।

“ओमकार परिवारलाई एउटै सुत्रमा बाँधी मानवीय भेद्भाव, हत्या हिंसा र कुविचार परित्याग गरी एकाकार बन्दै वेदव्यासका परोपकारी भावलाई उजागर गर्नु नै महामिलनको मूल उद्देश्य हो,”– उनले भने । एक महीनाभर विशेष प्रवचनका साथै वेदसहित विभिन्न पुराण, रुद्री, चण्डी आदिको पूजा एवं पाठ पारायणका साथै वैदिक सनातन विधिअनुसार शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचार विधिले पूजा गरिने आयोजकले जनाएको छ ।

प्रतिष्ठानको टोलीले पोखरासहित देशका प्रमुख शहर एवं धार्मिक तीर्थस्थलमा पुगी महामिलनको प्रचारप्रसारसहित साधुसन्तलाई आमन्त्रण गरिसकेको छ । साधुसन्तलाई एक पटक व्यासभूिम आमन्त्रण गरी यहाँको धार्मिक एवं साँस्कृतिक महत्वबारे प्रचारप्रसार समेत गर्ने प्रतिष्ठानको लक्ष्य छ ।
स्कन्ध पुराणको हिमवत खण्डको गण्डकी माहत्म्यमा उल्लेख छ,
“पारकोटेऽन्यतीर्थञ्च वर्तते पुण्यदायकम् ।
माद्रिका शुक्लगण्डक्योः सङ्गमे शङ्कराभिदम् ।।
जज्ञे मत्स्योदरीपुत्रस्तत्रद्वीपे पराशरात् ।
पुराणसंहिताकर्ता वेदशास्त्र प्रवर्तकः ।।”

यसरी शुक्ला माहेन्द्री गङ्गाको सङ्गममा शङ्करजीको प्यारो तीर्थ रहेको र मत्स्योदरीका पुत्रका रुपमा उक्त स्थानमा वेदशास्त्रका प्रवर्तक वेदव्यास जन्मनुभएको उल्लेख भएकाले यस स्थलको ठूलो धार्मिक महत्व छ । पुराण तथा अन्य धार्मिक ग्रन्थहरूकाअनुसार वेदव्यास २८ आँैं व्यासावतार श्रीकृष्ण द्वैपायनका रुपमा दमौलीमा अवतरित हुनुभएको हो ।सेती र मादी नदीको सङ्मस्थल बयरघारी वनयुक्त द्वीपमा महर्षी पराशरको अंश र सत्यवतीको कोखबाट श्रीकृष्ण द्वैपायनको जन्म भएको र जन्मनासाथ आमाको अनुमतिले चीरकालसम्म तपस्या गरी तपस्वीका रुपमा रहनुभएको जनविश्वास छ ।

यस क्षेत्रमा पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको बाज पक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्डजस्ता धेरै ऐतिहासिकस्थल प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।वेद व्यासको जन्मस्थलको महीमा र गरिमालाई देश विदेश पुर्याउन पनि महामिलन अत्यन्त उपयोगी बन्ने विश्वास लिइएको प्रतिष्ठानका सदस्य हिमलाल पौडेलले बताउनुभयो । यस क्षेत्रमा २०७३ कात्तिक १ गतेदेखि ०७४ चैतसम्म १८ महिने अखण्ड हरिनाम सङ्कीर्तन गरिसकिएको छ ।

यहाँको धार्मिक एवं साँस्कृतिक महत्वलाई उजागर गर्न व्यास क्षेत्र विकास कोषको सक्रियतामा करीब रु २७ करोडको लागतमा १०८ फिटको तामाको मूर्तिसहित विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिसकिएको छ । यस क्षेत्रको लगभग एक सय रोपनी क्षेत्रफल समेट्ने गरी पुस्तकालय, वाचनालय, प्रवचन गृह, गुरुकुल आश्रम, धर्मशाला, व्यापारिकस्थलका साथै २७ अवतारका व्यास, श्री गणेश, सत्यवती, पराशर र दाशराज माझीको मूर्ति निर्माण गरिने भएको छ ।

पर्यटकीय नगरी पोखराबाट जम्मा ५० किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा प्रस्तावित मूर्तिसहितका संरचना निर्माण भएसँगै पोखरा आउने पर्यटकलाई न्यूनतम एक दिन यस ठाउँमा पुर्याउनसकिने भएको छ ।

व्यास क्षेत्रसहित तनहुँका देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोलेदेवी, तनहुँकालिका, अकलादेवी लगायत मठमन्दिर पनि यहाँका थप आकर्षण हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button