तिहार अगावै पटाकासहित एकजना पक्राउ

पोखरा न्यूज – २९, असोज ।

प्रहरीले ठूलो परिमाणमा पटाकासहित एक जनालाई आज तनहुँको आँबुखैरेनीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ बस्ने २२ वर्षीय सुमितकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी बनाइएको विशेष सुरक्षा योजनाबमोजिम आँबुखैरेनीमा गरिएको आकस्मिक चेकजाँचका क्रममा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको डिएल ४ सिएस ३२२५ नंको भारतीय गाडीको डिकी तथा सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा पटाकासहित सिंहलाई पक्राउ गरिएको उनले बताए ।

प्रहरीले निजका साथबाट मोरी कलरकोटी लेखिएको पटाका १० प्याकेट, ग्रिन कास्को लेखिएको पटाका एक, गोल्डन क्लासिक पटाका एक, ओपी १० पटाका पाँच, २४० मल्टिकलर बल्स पटाका दुई, रङ्गबार एसएटी फाउण्टेन पटाका दुई, साइन पटाका १०, रिङ क्याप्स पटाका १०, रोल क्याप्स पटाका १०, रङ्गिला ग्रिन पटाका १० र मोरी कलर कोटी डिलक्स पटाका पाँच प्याकेट बरामद गरेको जनाएको छ ।

निजलाई प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला अदालत तनहुँबाट समेत जरुरी पक्राउ पुर्जी स्वीकृत गराई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button