करोडौँ बक्यौता नतिरी बिदा भयो एयर एशिया

पोखरा न्यूज – १२, कार्तिक ।

मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगित गरेको हो ।

उक्त कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तब्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । एयर एशियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रु १३ करोड बक्यौता तिर्न बाँकी छ । यो विलम्ब शुल्क हो । कम्पनीले हालसम्म करीब रु ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ ।

एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एशियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आशयसहित विमानस्थललाई पत्राचार गरेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्कबापतको रु सात करोडभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्नेछ ।

नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहे पनि श्रम सम्झौता हुन सकेको थिएन । नेपालबाट कामका लागि जानेमाथि ठगी भएको भन्दै सरकारले केही समयका लागि श्रम स्वीकृति रोकेको थियो । दुई देशबीच भएको श्रम सम्झौतापछि उक्त एयरलाइन्सले पुनःसेवा शुरु गर्नसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न शुरु गरेको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय लिएको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार लगातार घाटा भएपछि उडान बन्द गर्ने भन्दै सेवा बन्दका लागि कम्पनीले निवेदन दिएकामा कामदारको समस्या समाधान हुने भएकाले उडान बन्द नगर्न सुझाइएको थियो ।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान गर्ने एयरलाइन्सले काठमाडौँबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । हाल सो रुटमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

बोर्डलाई रु सात करोड तिर्न बाँकी

एयर एशियाले नेपाल पर्यटन बोर्डलाई रु सात करोेड २३ लाख बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत एक वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिए ।

एयर एशियाको उक्त रकम जरिवानासहितको हो । बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक पटक आग्रह गरे पनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button