चीनको यिपिनका उपमेयर र पोखराका मेयरबीच भेटवार्ता

पोखरा न्यूज- १४, कार्तिक ।

चीनको यिपिन सहरका उपमेयर चाङग फिङग र पोखराका मेयर मानबहादुर जिसीको बुधबार भेटवार्ता भएको छ । भेटमा उपमेयर फिङगले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो देखाएका छन् । उनले विमानस्थल पूरा भइसकेपछि यिपिनबाट पहिलो उडान भर्न चाहेको मनसाय व्यक्त गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘अन्तर्राष्ट्रिय विमानस्थल बन्दै रहेछ । चाँडै पूरा होस् र यसको उद्घाटन यिपिनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान होस्,’ यिपिनका उपमेयर फिङगले भने, ‘हवाइमार्गबाट जोडिएको सम्बन्ध वास्तविक सम्बन्ध ठहरिनेछ ।’ उनले हवाइमार्ग सेवा विस्तार भयो भने उद्योग, पर्यटन, कृषिलगायत हरेक क्षेत्रमा प्रत्यक्ष सम्बन्ध राख्न सकिने बताए ।

गत असोजमा यिपिन र पोखराबीच भगिनी सम्बन्ध स्थापित भएपछि यिपिनका उपमेयरसहित ७ सदस्यीय टोली बुधबार पोखरा आएको हो । उनले पोखराका मयेर मानबहादुर जिसीलाई महानगरलाई विकास गर्नु छ भने पहिले कृषिलाई भन्दा पर्यटनलाई जोड दिन आग्रह गरे । उनले भने, ‘पोखरा साच्चिकै सुन्दर छ । यहाँ आइपुग्दा हामीलाई घरमै आइपुगेको जस्तो आभास भयो । त्यसैले यहाँ कृषिको भन्दा पहिले पर्यटन विकासमा लाग्नुस् ।’ उनले पोखरामा खिचेको फोटो यिपिनमा पठाउँदा सबै दंग  परेको सुनाए ।

सहरका कृषि विकास ब्युरो प्रमुख मिच्याङले पोखरा र यिपिनको भौगोलिक बनावट मिल्ने भएकाले कृषि विकासमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताए । ‘यहाँ आउनुको मुख्य कारण नै हाम्रो चियाको प्रचारप्रसार गर्नु हो,’ उनले भने, ‘यसले २ देशबीचको अध्ययन र अनुभव आदानप्रदान गर्न सहयोग पुगेको छ ।’ उनले पोखरासँग व्यापार, पर्यटन, संस्कृति, मानव संसाधन र प्रविधि आदानप्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको सुनाए ।

पोखराका मेयर मानबहादुर जिसीले यिपिनका मेयरलाई विमानस्थल निर्माण भइसकेपछि यिपिन ४ घण्टामै पुगिने भएकाले धेरै कुरामा सहयोग पुग्ने बताए । ‘यिपिन सहरबाट वार्षिक ५ प्रतिशतमात्रै पर्यटक पोखरा आउन सके भने हाम्रो पर्यटन विकासमा उल्लेख्य परिवर्तन आउने छ,’ उनले भने । मेयर जिसीले यिपिनले ५० वर्षमा सकेको काम आफूहरुले ५ वर्षमा गर्नु पर्ने बाध्यता रहेको समेत सुनाए ।

मेयर जिसीले यिपिन सहरले पोखराको कृषि विकासमा लगानी गर्न चाहे महानगर लगानीको वातारण निर्माण गर्न इच्छुक रहेको बताए । ‘सहयोग भावनाका समथ लिन र दिन दुबै तयार छौं,’ उनले भने । उनले चीनबाट आएका भ्रमण टोलीका ७ सदस्यलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरे भने पोखराको फोटो उपहार दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पोखरा उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले पर्यटन क्षेत्रलाई विशेष ध्यान दिएर विकास गरिरहेको सुनाए ।

भेटवार्तमा यिपिनका भ्रमण प्रतिनिधिले पोखराका मेयर मानबहादुर जिसीलाई यिपिन सहर भ्रमणको समेत निमन्त्रणा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button