पिपिएलको उपाधि घरेलु टोलीलाई, पल्टन ३ विकेटले विजयी

पोखरा न्यूज – २०, कार्तिक ।

चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टनले पोखरा प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ ।

आज भएको फाइनल खेलमा रवि इन्दर सिंहको शानदार ९० रनको मद्दतले चितवनलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा पल्टनले ट्रफीसहित २७ लाख नगद पुरस्कार प्राप्त गर्यो । खेलमा टस हारेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनायो । चितवनका लागि अनिल कुमार शाहले ३७(३८), कप्तान पारस खड्काले ५१(३७) बनाउँदा सन्नी पटेलले पनि ४३(२१) रनको योगदान दिए । आरिफ सेखले पनि १४ रन बनाए । पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिए ।

१६१ रनको लक्ष्यलाई पछ्याउने क्रममा पहिलो ओभरमै पोखराले विकेट गुमाउन पुग्यो । कुशल भुर्तेललाई ४ रनमै गुमाए पनि दोस्रो विकेटका लागि ६१ रनको योगदान हुँदा पोखरा सहज जीत तर्फ अघि बढेको थियोे । पोखराका लागि सिंहको ९० का साथै मोहम्मद नाविदले २५(१४) र शरद भेष्वाकरले २२(२३) रनको योगदान दिए । १९ औं ओभरमा दुई विकेट लिँदै खेलमा फर्कन चितवनले प्रयास गरेपनी अन्तिम ओभरमा चाहिएको ४ रन चौका प्रहार गर्दै विनोद भण्डारीले खेल समाप्त गरे । चितवनका भुवन कार्कीले २ विकेट हासिल गरे पनि ३.२ ओभरमै ४२ रन खर्चन पुगे ।

पुरस्कार वितरण समारोह

फाइनलमा क्लिएर टिभी क्लिएर क्याचको अवार्ड अनिल कुमार शाहले जिते । त्यस्तै सुविसु फास्टेस्ट फिफ्टी र म्यान अफ दि फाइनलको दुवै अवार्ड पोखराका रवि इन्दर सिंहको पोल्टामा गयो । त्यस्तै पोखरा कै रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै ५० हजार नगद जित्न सफल भए । प्रतियोगितामा बेस्ट बलर चितवन राइनोजका करन केसी र बेस्ट ब्याट्सम्यान काठमाडौं रोयल्सका गौरव तोमर बन्दै सुजुकी मोटरसाइकल जित्न सफल भए । प्लेयर अफ दि टुर्नामेण्टको उपाधि भने चितवनका सन्नी पटेल भए । उनले पनि सुजुकीको तर्फबाट मोटरसाइकल जिते । त्यस्तै पोखराका ललित नारायण राजवशीं प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर बन्दै नगद १ लाख १ हजार रुपैयाँ जित्न सफल भए ।

प्रतियोगिताको विजयी टिमलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य ट्रफी हस्तान्तरण गरेका थिए । त्यस अघि समारोहमा बोल्दै दाहालले क्रिकेट खेलले सम्पुर्ण देशलाई एकताको सुत्रमा बाधेँको बताए । त्यस्तै उनले पोखरामा अन्तर्राष्ट्रिय रंगशाला बनाउनका लागि आफुले व्यक्तिगत तथा पार्टीगत रुपमा सक्दो पहल गर्ने पनि बताए । समारोहमा दाहालका साथै चितवनका मेयर रेणु दाहाल, नेपाली काङ्ग्रेसका सङ्घीय सभासद गगन थापा, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतको उपस्थिति थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button