पुनः निर्माणले ल्यायो गोरखाका विपन्नमा खुशी

पोखरा न्यूज – १०, मंसिर ।

पुनःनिर्माण पछि नयाँ घरमा बस्न पाएका सिरानचोक गाउँपालिका सिम्लेका विपन्न समुदाय यति बेला खुशी छन् ।

विसं २०७२ वैशाख १२ गतेको बिनाशकारी भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको सिरानचोक गाँउपालिका–७ सिम्ले टोलका ५० घर विपन्न परिवार नयाँ घरमा सर्न पाएसँगै खुशी भएका हुन् । भूकम्पले घर भत्काएपछि ४२ महीना भन्दाबढी अस्थायी टहरामा कष्टपूर्ण दिन बिताउँदै आउनुभएका स्थानीयवासी अर्जुन थापाले झण्डै एक वर्ष लगाएर घर बनाएका हुन् ।

सरकारले दिएको रु तीन लाख र असल छिमेकी नेपाल नामक संस्थाले उपलब्ध गराएको रु ७० हजार ५०० बराबरको निर्माण सामग्री सहित प्राविधिक सहयोगले घर निर्माण भएको उनि बताउछन् । ‘डिपिसीको काम सकेर झण्डै ६ महीनासम्म रोकिएको काम पुनः वडा कार्यालयको पहलमा सहयोग जुटाएर कात्तिकको अन्तिम सातामा पूरा गरिएको उनको भनाइ छ । ‘यसअघि कटेरोमा बसेका थियौं, अहिले कटेरो भत्काएर नयाँ घरमा बस्न थालेका छौँ, थापाले भने, “एक कोठाको घर भए पनि अहिले सन्तोष मिलेको छ ।” अस्थायी टहरामा बस्दा बर्खाका बेला पानी पसेर रातभर सुत्न नपाएकामा अहिले सानो भए पनि चिटिक्क परेको पक्की घरमा बस्न पाउँदा अहिले मिठो निन्द्रा लाग्ने गरेको उनि  बताउछन् ।

थापा भन्छन, “घर बनाउन नसक्दा लामो समयसम्म बाँसले बारेको कटेरोमा बस्दा रातको समय सर्प, बिच्छीलगायतको टोकाइको डर थियो अब नयाँ घरमा केहीको पिर छैन ।” एककोठे भए पनि निलो रङ्गीन जस्ताको छाना भएको घर बनेपछि थापासँगै उनकी श्रीमती र छोरी पनि खुशी छन् । थापा मात्र होइन सिम्लेटोलका अर्का भूकम्पपीडित आइत बराम पनि नयाँ घरमा सर्न पाउँदा हर्षित छन् । दुई कोठाको पक्की घर त्यसमाथि सिमेन्ट प्लास्टरबाट चिटिक्क परेको घरको पिढीँमा बस्दै उनले  भने, “अब मेरो पालासम्मका लागि पुगेको छ, छोराछोरीले आफ्ना लागि आफै गरिहाल्छन् ।” ‘घर नबनाउँदासम्म कसो गर्ने के गर्ने भनेर सधैँ चिन्ता लाग्ने गरेको थियो अब नयाँ घर बनेपछि ढुक्क भएको छ ।” भूकम्पले घर भत्काएपछि जसोतसो बाँसले बारेको झुप्रोमा गुजारा चलाउँदै आएका उनि नयाँ पक्की घर बनेपछि भूकम्पको सबै पीडा बिर्सिन थालेको बताउछन् ।

बरामजस्तै सिस्ने टोलका अन्य ५० घर विपन्न परिवारका घर निर्माण भएको वडाध्यक्ष सुरज ढकालको भनाइ छ । आफैले घर निर्माण गर्न नसक्ने अवस्थामा रहेका वडाभित्र बसोवास गर्दै आएका विपन्न परिवार पहिचान गरी थप सहयोग जुटाएर घर निर्माण भएको उनले  उल्लेख गरे ।

‘सरकारले उपलब्ध गराएको रु तीन लाखमै घर बन्न नसक्ने र यहाँका विपन्न परिवारले थप रकम जुटाएर बनाउन पनि नसक्ने अवस्था भएपछि असल छिमेकी नेपाललाई सहयोगका लागि आग्रह गर्यौ,’ वडाध्यक्ष ढकालले भने, “उनीहरुको थप सहयोगले विपन्न परिवारमा खुशी छाएको छ ।” भूकम्पपीडितले आर्थिक समस्याका कारण घर बनाएर अधुरै छोड्नु परेको भन्दै वडा कार्यालयले सहयोगका लागि आग्रह गरेपछि प्रतिपरिवार रु ६० हजार बराबरको निर्माण सामग्री, उपलब्ध गराइएको संस्थाका कार्यक्रम संयोजक विजयकुमार श्रेष्ठ जानकारी दिए ।

“हामीले उपलब्ध गराएको निर्माण सामग्री समेत आफैले ढुवानी गरेर घरसम्म पुर्याइदियौं र निर्माण सम्पन्न नहुदासम्म प्राविधिकसमेत पठाएर सहयोग उपलब्ध गरायौँं ।” उनि भन्छन । खानेकुराको अभावका कारण उनिहरुलाई घर निर्माण गर्न अवरोध नहोस् भनेर संस्थाले सबै परिवारलाई दुई पटकसम्म चामल, दाललगायत खाद्यान्न समेत उपलब्ध गराइएको वडाध्यक्ष ढकालले बताए ।

गोरखा सदरमुकामदेखि करीब ३० किलोमिटरको दुरीमा रहेको सिस्ने टोल दलित आदीवासी र लोपोन्मुख समुदायको बसोवास रहेको पिछडिएको गाउँ हो । सीमान्तकृत जातिमा पर्ने बराम समुदायको उक्त गाउँमा बसोवास रहेको गाउँपालिका अध्यक्ष राजु गुरुङ जानकारीले दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button