वर्ल्ड च्याम्पियन साइकल धावकको कीर्तिमानी अन्नपूर्ण सर्किट यात्रा

साइकल यात्राबाट नेपाल चिनाउदै

पोखरा न्यूज – ११, मंसिर । विश्वमा साहसिक साइकल यात्राका लागि परिचित नाम हो कोरी वालेस । दुईपटक वेम्बो सोलो २४ घण्टे विश्व च्याम्पियनसिपको उपाधि जितिसकेका वालेसले यसपटक २२० किमी दुरीको अन्नपूर्ण सर्किट २१ घन्टा २६ मिनेटको साइकल यात्राबाट पुरा गर्दै आफ्नै पुरानो कीर्तिमान तोडेका छन् ।

स्ट्राभा माउन्टेन बाइक चढेर नोभेम्बर २० तारिखमा रातको १० बजेर ५० मिनेटमा लमजुङको बेशीसहरबाट यात्रा शुरु गरेका वालेसले भोलिपल्ट राति ८ बजेर १६ मिनेट जाँदा म्याग्दीको बेनीमा यात्रा टुङ्ग्याउदै सर्किट पुरा गरेका हुन् । पछिल्लो पटक २०१७ को डिसेम्बरमा पनि वालेसले सोही दुरी २३ घण्टा ५७ मिनेटमा पूरा गरेका थिए ।

वालेसले दाबी गरेको कीर्तिमानलाई साइक्लिङ र रनिङ कीर्तिमान ट्र्याक गर्ने स्त्राभा नामक एपबाट जिपिएस प्रयोग गरेर रेकर्ड गरिएको छ । वालेसको यात्रामा उनका सहयात्री प्याट्रीक मिन्सका साथै नेपालबाट अजय पण्डित, गौरवमान शेरचन, राजन भ्ण्डारी, ओकेश बज्राचार्य, रोन तामाङ लगायतले मोटरसाइकलबाट साथ दिएका थिए ।

विगत ९ वर्ष देखि प्रोफेसनल साइक्लिङ गर्दै आएका वालेस दुईपटकका क्यानेडियन म्याराथन च्याम्पियन पनि हुन् । ३५ वर्षीय कोरीले २०१७ मा इटाली र सन् २०१८ मा स्कटल्याण्डमा भएको विश्व च्याम्पियनसिपमा २० देशका ३५० भन्दा धेरै सहभागीलाई उछिन्दै उपाधि जितेका थिए ।

World Solo 24 HR Championships in Scotland

पोखरा न्यूजसँगको विशेष कुराकानीमा वालेसले नेपालमा व्यवसायिक साइकल यात्राको विकास लागि गो फन्ड मी मार्फत काठमाडौंको नेपाल साइक्लिस्ट राइड टु रेस्क्यु (एन्.एस.आर्.आर्.) नामक संस्थाका लागि सहयोग जुटाउन अन्नपूर्ण सर्किटको यात्रा गरेको जानकारी दिए । वालेसले अघिल्लो वर्ष पनि उक्त संस्थालाई ३ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेका थिए । यसपटक पहिले भन्दा दुईगुना बढी करिब ७ हजार २ सय  डलर सङ्कलन गर्न आफू सफल भएको उनले जानकारी दिए। सहयोग संकलन सँगै एन्.एस.आर्.आर्. संस्थासँग मिलेर काठमाडौलाई साइकल शहरका रुपमा विकास गर्न आफुले सक्दो प्रयत्न गरिरहेको वालेस बताउछन् ।

दुईपटक सर्वाधिक उचाइको रुट अन्नपूर्ण सर्किटमा साइकल यात्रा गरेर रेकर्ड राखेका वालेस आफ्नो नयाँ रेकर्ड फेरी तोड्ने इच्छा रहेको बताउछन् । उनले रेकर्ड तोड्दै एकातर्फ नेपालकै लागि सहयोग रकम जुटाउन सफल भएका छन् भने आफ्नै रेकर्ड तोड्दै उनले अन्नपूर्ण सर्किट, माउन्टेङ बाइकिङ र नेपाललाई विश्वसामु चिनाइरहेका छन् ।

माउन्टेङ बाइकिङका लागि नेपालले विश्वमै ख्याती पाउने सम्भावना रहेको उल्लेख गर्दै वालेसले साइक्लिङलाई विशेष प्राथमिकता दिन पनि सबैलाई आग्रह गरेका छन् । वातावरणीय प्रदुषण कम गर्ने हिसाबले होस् वा शरीरको स्वास्थका हिसाबले, साइक्लिङले निकै सकारात्मक प्रभाव पार्ने वालेस बताउछन् ।

Photo Credit : Patrick Means, Candace Mihalcheon

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button