शिक्षण पेशासँगै कृषिमा रमाउँदै पर्वतका रेग्मी

पोखरा न्यूज– १८, मंसिर ।

मानिस व्यस्त रहनु नै उसको सफलताको शुरुआत हो । शिक्षण पेशाबाट मात्र नभएर बिहान बेलुकाको समय कृषि पेशामा रमाउन थालेका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेशाबाट मात्र तृप्त हुन सकेनन् । उनले जीवनलाई सार्थक बनाउन र आर्थिकरूपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गरे ।

फलेवास नगरपालिका–३ रुग्दीका कृषक रेग्मीकोे बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा र मौसमअनुसारका तरकारी फलेका हुन्छन् । मौसमअनुसार खुला ठाउँमा र हिउँदमा प्लाष्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेका छन् । आफ्नै गाउँ नजिकैको निम्न माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी बिहान र बेलुकाको समय बारीमै तरकारी गोडमेलमा व्यस्त भेटिन्छन् । बारीमा काउली, गोलभेँडाजस्ता तरकारी हुर्किरहेका छन् ।

यिनै तरकारीको गोडमेल गर्नु उनको साँझ बिहानको दिनचर्या जस्तै बनेको छ । उनि शिक्षक तथा तरकारी कृषक मात्र नभएर कुखुरापालन र गाउँकै थोक किराना पसल गर्ने एक व्यवसायीसमेत हुन  ।

शिक्षण पेशाबाट आफूले घरपरिवार तथा छोराछोरीलाई पढाउन समेत धौधौ हुने गरेको अनुभव सुनाउँदै उनले अहिले आफ्नो परिवार धान्न तथा घर खर्च चलाउन सहज हुने गरेको बताए । पछिल्लो सात वर्षयता उहाँको परिवारले व्यावसायिक तरकारी खेती गरिरहेको छ ।

खर्च कटाएर कृषिबाटै वर्षको तीन लाखसम्म आम्दानी गर्छ रेग्मी परिवारले । घरमै तरकारी खेती र कुखुरापालन व्यवसाय राम्रो हुँदै गएपछि उनको परिवार अहिले एकदमै खुशी छ । उनको परिवारमा छोटो समयमा उल्लेख्य परिवर्तन आएको छ । रेग्मीको परिवारले ल्याएकोे यो परिवर्तनले अहिले रेग्मीको घरमा मात्र नभएर शङ्करपोखरी रुग्दीका हजारभन्दा धेरै किसानको घरमा यस्तै परिवर्तन आउन थालेको छ । विदेश गएर फर्केका समेत अहिले कृषिमा होस् या पशुपालन व्यवसाय, सबै आफ्नो गाउँ आफैँ बनाऊँ अभियानमा जुटेका छन् । पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिलाई आत्मसात गरिएकाले यस्तो परिवर्तन आएको बताइएको छ ।

अहिले रेग्मीको बारीमा हरियो साग, काउली, बन्दा, गोलभेँडा केराउलगायतका हरिया सागसब्जी मगमगाइरहेका छन् । उनले विदेशिने युवालाई लक्षित गर्दै आफूले गाउँमा कृषि क्रान्तिको शुरुआत गरेको बताए । झण्डै ७० प्रतिशत तरकारी बारीबाटै बिक्री हुने गरेको छ । बाँकी तरकारी उहाँले सदरमुकाममा लगेर विक्री गर्छन । रेग्मीका अनुसार अहिले उहाँको तरकारीबाहेक कुखुरापालन व्यवसाय तथा किराना व्यवसायबाट मात्रै महीनाको रु एक लाखदेखि दुई लाखको हाराहारीमा कमाइ हुन्छ । सबै खर्च कटाएर उनले मौसमअनुसार महीनामा रु एकलाखसम्म बचत गर्छन   ।

विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी देश र परिवार नछोडेरै कमाउने सपना पूरा गर्न पाएकोमा खुशी छन् । दुई छोरा र श्रीमतीका साथ खेती किसानी र शिक्षण पेशामा रमाएका रेग्मीलाई माटोको जस्तो मीठो सुगन्ध केहीमा छैन जस्तो लाग्छ । लाखौँ खर्च गरेर विदेशमा रगत पसिना बगाउने युवाका लागि नेपालमै धेरै सम्भावना छ भन्ने गतिलो उदाहरण बन्न सफल हुनुभएको छ रुग्दीका रेग्मी ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button