पोखरा लगायतका स्थानमा नक्कली प्रहरी बनेर करिव ८२ लाख ठगी गर्ने पक्राउ

ठगी गरेको रकम पोखरा तथा काठमाण्डौका डिस्कोमा खर्च

पोखरा न्यूज – १२, पुष।

नक्कली प्रहरी बनेर लाखौ ठगी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली प्रहरी बनेर नगद तथा जिन्सी सामान असुलेको आरोपमा लमजुङ मर्स्याङदी गाँउपालिका – १ घर भई पोखरा -१५ काजिपोखरी वस्ने २८ बर्षिय जिवन गुरुङ पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

गुरुङले आफुलाई सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ बताउदै पोखरा, कास्की लगायत आसपासका जिल्लामा ठगी गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीले जानकारी दिए ।

गुरुङले हालसम्म २९ जना व्यक्तिहरुवाट ८१ लाख ८५ हजार ४ सय ९ रुपैया उठाएको स्वीकार गरेको प्रवक्ता सुवेदीले बताए । उनले विगत डेढ वर्ष देखि कसैलाई सरकारी जागीर लगाउने प्रलोभन देखाएर तथा कसैलाई व्यापार गर्ने भनि ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको सुवेदीले जनाए ।

प्रवक्ता सुवेदीका अनुसार गुरुङले पोखरा तथा काठमाण्डौबाट भाडामा कार लिई प्रहरीको काममा हिडेको भनि ठग्ने समेत गरेका थिए । गुरुङले ठगी गरेको सम्पूर्ण रकम पोखरा तथा काठमाण्डौका डिस्कोमा खर्च गरेको भनि बयान दिएको प्रवक्ता सुवेदीले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको टोलीले गुरुङलाई काठमाण्डौ बसपार्कबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङको बिषयमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button