सडक महोत्सवको अवसरमा बढी मुल्य लिए कारवाही गर्ने प्रशासनको चेतावनी

बढी मुल्य लिएको प्रमाण देखाए कारबाही गर्छौ - अध्यक्ष भुजेल

डिएनबी, पोखरा न्यूज – १४, पुष ।

अंग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा जारी सडक महोत्सबमा कसैले बढी मुल्य लिएको पाइएमा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

सडक महोत्सवको अवसरमा व्यवसायीहरुले चर्को मुल्य लिने गरेको आरोप लागेको समयमा रेवान पोखराका पुर्व अध्यक्ष सुर्य बहादुर भुजेलले पत्रकार सम्मेलनमै सडक महोत्सवको अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मुल्य बृद्धि हुने बताएपछी उक्त खबर केहि संचारमाध्यममा आएको थियो । पोखराका होटल तथा रेस्टुरेन्टले ३ सय देखी ४ सय प्रतिशत सम्म मूल्य बढाएर लिने गरेको आरोप लागिरहेको बेला कसैले अलिकति पनि बढी मुल्य लिएमा प्रशासनले कारवाही गर्ने चेतावनी दिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले पोखरा न्यूजसँग कुरा गर्दै महोत्सवको नाममा कसैले तोकेको मुल्य भन्दा एक रुपैया पनि बढी लिएको भेटिएमा कारवाही गर्ने चेतावनी दिएका हुन। उनले भने -“ कुनै मेला र महोत्सवको अवसरमा कसैले मौका छोपेर आम उपभोक्ता तथा पर्यटकहरुलाई ठग्ने नियतले बढी शुल्क लिएको प्रमाण भेटिएमा हामी कारवाही गर्छौ ।
उनले महोत्सब अवधिभर कानुनले वन्देज गरेको कुनै पनि क्रियाकलाप गरेको भेटेमा समेत कारबाही गर्ने जनाए ।

अदालतले सडक महोत्सबको अवसरमा आतिसबाजी नगर्नु भनिसकेको अवस्थामा लोकेसन परिवर्तन गरेर अथवा सोहि स्थानमा आतिसबाजी गर्ने आन्तरिक तयारी भइरहेको हल्ला चलिरहेको भन्दै उनले त्यस्तो हुन् नदिने बताएका छन् । सडक महोत्सवको अवसरमा रेवान पोखराका केहि पदाधिकारीले पोखरामा आतासवाजी गर्ने आन्तरिक तयारी गरेको बताइन्छ ।

यता कास्की प्रहरी पोखराको सुरक्षालाई मजबुद पार्न उतिकै सक्रिय भएर लागेको बताइएको छ । कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पोखरामा सुरक्षा अवस्था बलियो पारिएको भन्दै महोत्सबको बेलामा पटका पटकाउन र आतिसबाजी गर्न नदिने भनि सुरक्षा बैठकले निर्णय गरेको जनाए । उनले भने – “हामीले सुरक्षा बैठकबाटै महोत्सबमा पटका पटकाउन र आतिसबाजी गर्न नदिने भनि निर्णय गरेका छौ, त्यसको जानकारी आयोजकलाई पनि गराइसकेका छौ ।“ आतिसबाजीमा प्रयोग हुने कानुनले प्रतिबन्धित गरेको पटका र विस्फोटक पदार्थ पोखरामा ओसार पसार गर्न नदिने र भेटिएमा जफत गरि कानुन अनुसार कारबाही गरिने पनि उनले जनाए ।

एसपी रानाले सडक महोत्सवमा हाल दिउसो राति गरी ६ सय नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरी गरी ८ सय सुरक्षाकर्मी खटिदै आएको जनाए । उनका अनुसार बाग्लुङ, तनहुँ देखि समेतका प्रहरीको टोली पोखराको सुरक्षामा खटिएका हुन।

रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले महोत्सवको अवसरमा रेष्टुरेण्टहरुको मेनु भन्दा बढी मुल्य कसैले लिएको खण्डमा आफुहरुले पनि उनीहरु उपर कारवाही गर्ने चेतावनी दिएका छन। उनले भने “ तपाँइहरुलाई कुनै खानेकुरा महङगो लाग्न सक्छ, त्यसको लागि पहिला मेनु हेरेर मात्र खाना अडर गर्नु होला, यदि कसैले तोकेको मुल्य भन्दा बढी मुल्य लिएमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु भयो भने हामी कारवाही गर्न तयार छौं । ” पोखरामा जारी सडक महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरुलाई रेष्टुरेण्टको विभन्नि खानामा १० प्रतिशतसम्म छुटको व्याबस्था गरेको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताएका छन् ।

उता रेवानले होटलको रुममा मूल्य वृद्धि हुन्छ भनिरहेका बेला पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले आफुहरुले महोत्सवको अवसर पारेर मुल्य बृद्धि गर्ने कुनै निर्णय नभएको जनाए । अगेंजी नयाँ बर्षको अवसरमा शनिबार सम्म पोखरा क्षेत्रका होटलको करिब ४० प्रतिशत जसो अकुपेन्सि रहेको संघका अध्यक्ष तुलाचनले बताए । विदेशी पर्यटक सहित भारतीय र आन्तरिक पर्यटक गरी हाल पोखरामा ४० प्रतिशत होटल अकुपेन्सि रहेको अध्यक्ष तुलाचनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button