सडक महोत्सवमा ठगिँदै पर्यटक, होटेलको कोठा र खानामा तीन गुणा बढी असुलिँदै

पोखरा न्यूज- १६, पुष ।

पोखराको लेकसाइडमा रहेको हल्क होटेलले विगतमा एउटा कोठाको शुल्क दुई हजार रुपैयाँ लिँदै आएको थियो । होटेलले अहिले कोठाको शुल्क बढाएर ५५ सय रुपैयाँ पु-याएको छ । १५० देखि दुई सय रुपैयाँमा पाइने मःमको चार सय रुपैयाँ तोकिएको छ । ३०/३५ रुपैयाँ लिँदै आएको मिनिरल वाटरको ७० देखि ८० रुपैयाँ लिन थालिएको छ । लेकसाइडका अधिकांश होटेल व्यवसायीले कोठादेखि खानासम्म सबैको मूल्य बढाएका छन् । यसरी मूल्य बढ्नुको कारण हो, अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको २०औँ सडक महोत्सव । महोत्सव १७ पुससम्म चल्नेछ ।

कतै देखे भाइबरमा फोटो हाल्दिनुस्
महोत्सवमा खानाको मूल्य बढी लिएको विषयमा आयोजक रेवान पोखराका महासचिव गणेश थापासँग जिज्ञासा राख्दा उनले त्यति चासै देखाएनन् । ‘कतै देखे भाइभरमा फोटो हाल्दिनुस्’ भन्ने जवाफ दिएर उनी तर्किए । महोत्सवको अन्तिम तयारीबारे जानकारी दिने उद्देश्यले ११ पुसमा आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले महोत्सवको अवसरमा होटेलको कोठामा ५० प्रतिशतसम्म मात्र मूल्यवृद्धि हुने बताएका थिए ।

पटक–पटक आग्रह गर्दा पनि असुली गर्न छाडिएन
क्षेत्रीय होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार शनिबार पोखराका होटेलहरूको अकुपेन्सी करिब ४० प्रतिशतको हाराहारीमा थियो । आइतबार यो दर बढेर ६५ प्रतिशत पुगेको छ । आफूहरूले लिँदै आएको मूल्य नबढाउन पटक–पटक आग्रह गर्दासमेत शुल्क वृद्धि भएको गुनासो आउने गरेको उनको भनाइ छ । हल्क होटेलका फ्रन्ट डेस्क रिसेप्सनिस्ट सुनील दाहालले नयाँ वर्षका कारण कोठाको शुल्क वृद्धि भएको जानकारी दिए । यसअघि आयोजकले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटकलाई १५ प्रतिशतसम्म छुट दिने बताएका थिए । तर, पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकले १५ प्रतिशत छुट पाउनुको साटो लिँदै आएको मूल्यमा तीन गुणासम्म तिर्नुपर्दासमेत आयोजक पक्षले कुनै चासो देखाएको छैन ।

आयोजकले खानाका प्रत्येक स्टलमा मूल्यसूची रहने बताए पनि अधिकांशले राखेका छैनन् । आएका ग्राहकमध्ये कसैले मोलमलाइ गरे केही घटाउने र मोलमलाइ नगर्नेलाई बढी पैसा असुल्ने गरिएको छ । सडकसँगै महोत्सवको मुख्यस्थल कोमागानेपार्कमा रहेका अधिकांश रेस्टुरेन्टले मूल्यसूची नराख्दासमेत आयोजकको ध्यान जान सकेको छैन । कोमागानेपार्कमा रहेको ओनियन रेस्टुरेन्टका सञ्चालकले मूल्य लिन सजिलो होस् भनी नराखेको जवाफ दिए ।

स्टलको भाडा धेरै
स्टलको भाडा धेरै भएकाले खानेकुराको मूल्यसूची नराखेको रेस्टुरेन्ट व्यवसायीको भनाइ छ । ‘महोत्सव अवधिका लागि एउटा स्टलको भाडा ४० हजार रुपैयाँ छ, एउटा साँघुरो भएकाले अर्को पनि लिनुपरेकाले धेरैले मूल्यसूची नराखेका हुन्,’ महोत्सवस्थल कोमागानेपार्कमा रहेको एक रेस्टुरेन्ट सञ्चालकले नाम नबताउने सर्तमा भने । लेकसाइडको ठूलो होटेलहरूको भन्दा बढी भाडा भएकाले महोत्सवबाटै उठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

मारमा आन्तरिक र बाह्य पर्यटक
लेकसाइडमा खानादेखि होटेलका कोठाहरूको शुल्क बढाइँदा प्रत्यक्ष मारमा महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई परेको छ । विगत वर्षमा पनि शुल्क बढी लिएको भनी गुनासो सुनिने गरेको थियो । तर, महोत्सव आयोजक र स्थानीय प्रशासनले बेवास्ता गर्दै आएका थिए । यसअघि अनलाइन र फोनबाट होटेलका कोठाहरू बुक गर्ने होटेलहरूले अहिले खाली नभएको भन्दै बुक गर्न छाडेका छन् । तर, होटेलका अधिकांश कोठा खाली छन् । होटेलमा सीधै जाने ग्राहकसँग बढी पैसा असुल्न पाइने भएपछि उनीहरूले बुक गर्न छाडेका हुन् ।

स्रोत / साभार –रोहितराज पराजुली, नयाँ पत्रिका

यो पनि पढ्नुहोस्

सडक महोत्सबमा होटलका रुम र खानाका परिकारमा अत्याधिक मुल्यबृद्धिको गुनासो

सडक महोत्सवको अवसरमा बढी मुल्य लिए कारवाही गर्ने प्रशासनको चेतावनी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button