घरबास सञ्चालनका लागि कस्सिए तनहुँवासी

पोखरा न्यूज- १६, पुष ।

तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । घरबासमार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन् । यस ठाउँका १० घरमा फागुनभित्र घरबास सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिए ।

घरबास सञ्चालनका लागि नगरपालिकाले स्थानीयवासीलाई तालीमको आयोजना समेत गरेको छ । आइतबारबाट शुरु भएको घरबास व्यवस्थापन तालीम पुस २९ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौंस्थित एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सीको सहकार्यमा शुरु भएको तालीममा स्थानीयवासीलाई खानाको परिकार बनाउने तरिका, बोलीचालीका भाषा, संस्कृति, सरसफाइ र घर व्यवस्थापनको बारेमा जानकारी दिइने प्रशिक्षक घनश्याम गिरीले जानकारी दिए । तालीममा ३० जना स्थानीयको सहभागिता रहेको छ ।

यहाँका १० घरका २० कोठामा घरबास सञ्चालनको तयारी थालिएको छ । नगरपालिका–९ का वडा अध्यक्ष इमान थापाले पाथर्दीमै रहेको इन्द्र झरनामा क्यानोनिङ (छाँगावरोहण) र घरबास एकैसाथ शुभारम्भ गर्न लागिएको बताए । ‘घरबास सञ्चालनका लागि १० घरमा २० वटा कोठा तयार हुुँदैछ,’ वडाध्यक्ष थापाले भने, “क्यानोनिङसँगै घरबास शुरुआत गर्दैछौँ ।” झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि समेत तालीमको आयोजना गर्न लागिएको भन्दै उनले भने, “झरनामा क्यानोनिङका लागि आउने पर्यटकलाई राख्न यस ठाउँमा सुविधा छैन । त्यसैकारण पनि यहाँ घरबासको आवश्यकता थियो ।”

इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण भएपछि वडाले व्यावसायिकरूपमा क्यानोनिङको समेत शुरुआत गर्दैछ । क्यानोनिङ सञ्चालनका लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समेत चासो व्यक्त गर्दै आएका छन् ।

नगरपालिका–९ ले वडालाई नमूना वडा बनाउन ‘ड्रिम प्रोजेक्ट’ अगाडि सारेको छ । कृषिसँग जोडेर पर्यटनको विकास गर्ने उद्देश्यसहित यस ठाउँमा बाख्राको स्रोत केन्द्र समेत स्थापना गरिएको छ ।

यस ठाउँलाई क्यानोनिङ गन्तव्यको रूपमा विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकोले यसको पूर्वाधार निर्माणमा जोड दिइने वडा अध्यक्ष थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button