सडक महोत्सवमा एक गम्भीर घाइते,  मोटरसाइकल र स्कुटर गायब, प्रहरी पनि घाइते

महोत्सवमा शतप्रतिशत होटल बुकिङ नभएको व्यवसायीको गुनासो

पोखरा न्यूज – १७, पुस पोखरामा जारी सडक महोत्सवमा सोमबार राती एक युवा  गम्भीर  घाइते भएका छन् । लेकसाइड गौरीघाट स्थित महोत्सव स्थलको सडकमा  अपरिचित व्यक्तिको प्रहारबाट पोखरा-१५ नयाँ गाउँका विकास नेपाली घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार  करिब १०:३०  बजेको समयमा आफ्ना साथीसँग हिँड्दै गर्दा अचानक कसैको प्रहारबाट घाइते हुन पुगेका नेपाली छटपटाउँदै स्थानीय एक होटलको अगाडी पुगेर  ढलेका थिए ।

देब्रे खुट्टाको तिघ्रामा काटेर घाइते भएका नेपालीलाई सडक अवरुद्धको कारण एम्बुलेन्स घटनास्थलमा पुग्न नसकेपछि स्थानीय र सुरक्षाकर्मीको सहयोगले तन्नामा राखेर एम्बुलेन्स रहेको स्थान १० मिटर पर  लगिएको थियो । पोखराको नमस्ते हस्पिटलमा पुर्‍याइएका उनको अहिले  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको छ  ।घटनास्थलमा अत्याधिक मात्रामा बगेको रगतलाई स्थानीय होटलले पखालेका थिए ।

घटनामा संलग्न व्यक्तिहरू र घटनाको बारेमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताएका छन्  । उनले पोखरा न्यूजसँग कुरा गर्दै घटनास्थलमा फुटेको बियरको बोतल समेत देखिएको भन्दै बोतलले कसैले हान्यो वा अन्य कुनै कारणले घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

स्टेजमै ढुङ्गामुडा प्रहार, ३६ जना पक्राउ,  ४ जनालाई सार्वजनिक मुद्दा

महोत्सव स्थलको ३ किलोमिटर क्षेत्रभित्र अनावश्यक हो हल्ला तथा झैँ झगडा गर्ने ३६ जना पक्राउ  परेको डिएसपी कार्कीले बताएका छन्  । डिएसपी कार्कीका अनुसार पक्राउ परेका मध्ये ४ जनालाई सार्वजनिक मुद्दा दर्ता गरिएको छ । छोरेपाटनका १७ वर्षीय दीप गुरुङ, १८ वर्षीय अनमोल गुरुङ तथा  १९ वर्षीय पुकार गुरुङ र पोखरा ६ बैदामका १९ वर्षीय विवेक नेपालीलाई र सार्वजनिक मुद्दा चलाइएको  हो ।

पक्राउ परेका मध्ये पुकार गुरुङले  कलाकार समीर घिसिङ ( भिटेन) ले साङ्गीतिक  कार्यक्रम प्रस्तुत गरिरहेका बेला  महोत्सवको स्टेजमै ढुङ्गामुडा प्रहार गरेको डिएसपी कार्कीले जनाए । कार्कीका अनुसार पुकारको  ढुङ्गामुडाबाट एक जना  प्रहरी जवान घाइते भएका छन् ।

महोत्सव स्थलबाट मोटरसाकल तथा स्कुटर गायब

नयाँ वर्षको स्वागतको लागी दर्शक मेलामा रमाइरहेको बेला महोत्सव स्थलबाट मोटरसाइकल तथा स्कुटर गायब भएका छन् । लेखनाथका रिलिज पुनको ग १६ प २९२९ नम्बरको पल्सर मोटरसाइकल डिहीकोपाटनबाट हराएको छ । उनले बेलुका ७:३० बजे डिहीकोपाटनमा ह्यान्डल  लक गरेर राखेको मोटरसाइकल १ बजे फर्किदा नभेटेको जनाए । उनले मोटरसाइकल हराएपछि बैदाम प्रहरीमा गएर उजुरी गरेको बताए । डिहीकोपाटनबाटै प्रकाश नाम गरेका व्यक्तिको रातो र कालो पल्सर समेत हराएको बताइएको छ । त्यसै गरी राष्ट्र बैङ्क चोक नजिकबाट २२० सिसिको सेतो कालो पल्सर समेत हराएको भनी अर्का एक व्यक्तिले आफू सँगै बैदाममा उजुरी टिपाएको पुनले बताए ।

यसबारेमा बैदामका डिएसपी कार्कीलाई सोध्दा आफूहरूले महोत्सव स्थलको पार्कबाट एउटा स्कुटर मात्र हराएको भन्ने थाहा पाएको बताए  ।

महोत्सवमा शतप्रतिशत होटल बुकिङ नभएको व्यवसायीको गुनासो

पोखराका पर्यटकीय स्तरीय होटलमा अंग्रेजी नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सि यस वर्ष हुन नसकेको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए । पोखराका केही होटलहरुको अकुपेन्सि फुल भए पनि अधिकांश होटल अकुपेन्सि करिब ८० देखि ९० प्रतिशत जसो रहेको उनले जनाए ।

उनले भने “ रेवानका केही साथीहरूले होटलको रुममा मूल्य वृद्धि हुन्छ भनी दिएको अभिव्यक्तिबाट होटलमा प्रभाव परेको हो । ” यस अघिका सडक महोत्सवमा पर्यटकहरूले रुम पाउन मुस्किल पर्थ्यो । सडक महोत्सवको अवसरमा पोखराको ३ किलोमिटर क्षेत्र बाहेक नजिकका होटल तथा रेस्टुरेन्ट सहितका अन्य व्यवसायीहरूको व्यापार बढेको छ ।

रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले यस वर्ष महोत्सवमा आतसवाजी गर्न नपाएकोमा दुर्भाग्य भएको जनाए । आफ्नै केही साथीहरूले बोलीमा विचार नगर्दा महोत्सवमा आफूहरूले आशातीत व्यापार गर्न नसकेको गुनासो गरे ।  यस वर्षको महोत्सवमा दर्शक अत्याधिक भए पनि होटल, रेस्टुरेन्टसहितको समग्र व्यापारमा भने प्रभाव परेको उनले जनाए । रेवान पोखराका पूर्व अध्यक्ष सूर्य बहादुर भुजेलले सडक महोत्सवको अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मूल्य वृद्धि हुने बताएका थिए । यसको प्रभावले एकातर्फ केही व्यवसायीलाई मार परेको छ ।

पोखराका केही होटल तथा रेस्टुरेन्टहरूमा  अंग्रेजी नयाँ वर्ष र सडक महोत्सवको असरमा चर्को मूल्य असुल्ने गरेको पर्यटकहरूले गुनासो गर्न थालेका छन्। रेवान पोखराले कोमागाने पार्क क्षेत्रमा विभिन्न साङ्गीतिक कार्यक्रम राखे पनि उक्त क्षेत्रमा सञ्चालन भएका केही रेस्टुरेन्टले भने मूल्य सूचिको बोर्ड राखेर मूल्य उल्लेख नै नगरेको भेटिएको थियो ।

पुस १३ देखि सुरु भएको सडक महोत्सव मंगलबार बेलुका सकिँदै छ ।

सम्बन्धित न्यूज

Back to top button