मुस्ताङ पर्यटकले भरिभराउ

पोखरा न्यूज- १८, पुष ।

सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।

विसं २०१८ मा विदेशी पर्यटक आगमन १२.३० प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । सबैभन्दा धेरै भारतीय पर्यटकको सङ्ख्या ३३ हजार १५९ जना छ । जर्मनीका तीन हजार २१० र फ्रान्सका तीन हजार ८९ जना छन् ।

सन् २०१७ मा २४ हजार ८०८ भारतीय, तीन हजार १२३ फ्रान्सेली र दुई हजार ६३९ जर्मन पर्यटक थिए । २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतका कारणले पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए ।

एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षणका केन्द्र छन् । मुस्ताङ एक्यापअन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्य हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button