म्याग्दीमा सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै

पोखरा न्यूज- २१, पुष ।

परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ ।

बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा सुधार आएकोे हो ।

समयमै गर्भ जाँच, सुत्केरी सामग्री, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणलगायतका कुरामा पनि महिलाले विशेष ध्यान पुर्याउन थालेका छन् । अशिक्षाका कारण विभिन्न समस्या भोग्दै आएका ग्रामीण महिलामा चेतना आएपछि समूहमा आउने सुरक्षित मातृत्वसम्बन्धी छलफल गर्ने, सुत्केरी हुन अस्पताल जाने, सुत्केरीपछि ४२ दिन आराम गर्नेलगायतका कुरामा स्थानीय महिला समूहले सहयोग गर्न थालेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।

पहिला पहिला सुत्केरी भएको तीन दिनपछि नै काम गर्ने गरेकी बेनी नगरपालिका–३ तोराखेतकी चेतमाया नेपालीले सुत्केरी अवस्थामा आराम गर्नुपर्छ र चिसो भुइँमा सुत्नुहुँदैन भन्ने थाहा भएपछि यस पटक महीना दिनसम्म आराम गरेको बताइन् ।

“पहिलेपहिले बिरामी हुँदा धामीझाँक्रीकोमा लैजान्थे तर अहिले अस्पतालमा लैजाने गरेका छौँ”, स्थानीय दिलबहादुर सापकोटाले भने, “यहाँका महिलाले सुत्केरी अवस्थामा खतराबाट जोगिन समूहमा मासिक रूपमा छलफल गर्ने चलन बसालेका छन् ।”

महिलालाई पुरुषले पनि सहयोग गर्न थालेको तोराखेतका समाजसेवी सापकोटाले बताए । तोराखेतमा महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि रु ३० हजार बराबरको आकस्मिक कोष स्थापना गरिएको र त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने उनले बताए । यसैगरी महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि सामाजिक परिचालकसमेत व्यवस्था गर्ने बताइएको छ ।

ग्रामीण क्षेत्रमा पानीको सङ्कट

म्याग्दीका ग्रामीण क्षेत्रमा पानीको अभाव हुँदा स्थानीयवासीको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको बेनी नगरपालिका–६ पिपलबोट, बेनपा–३ तोराखेत, रघुगङ्गा गाउँपालिकाका रायखोर, कुइनेलगायतका गाउँमा खानेपानीकोे सङ्कट देखिएको छ ।

खानेपानीको अभाव हुँदा पिउन, घरायसी कामकाज गर्न र वस्तुभाउलाई खुवाउन समस्या भएको स्थानीयवासीको गुनासो छ । पानीको अभाव हुँदा गृहिणी र विद्यार्थी बढी मर्कामा परेका छन् । एक गाग्री पानी भर्न बिहानभर कुर्नुपर्ने बाध्यता रहेको छ । यस्तै, पानीको जोहो गर्नुपर्दा विद्यार्थी समयमै विद्यालय जान पाएका छन् ।

२०७२ सालको भूकम्पले मुहान सुकेपछि पानीको समस्या भएको रायखोरकी हेमकुमारी गर्बुजाले बताइन् । “धारामा पर्याप्त पानी नआउँदा पानीको जोहो गर्नै मुश्किल हुने गरेको छ”, उनले भनीन् । आवश्यकताअनुसार पानी नहुँदा स्थानीयवासीको जीवनयापन कष्टकर बनेको बेनपा–६ का अर्जुन पौडेलले बताए । गाउँका करीब २५ घर परिवार एउटा कुवाको भरमा बाँचिरहेका छन् । “पानीको समस्याका कारण व्यक्तिगत सरसफाइका लागि समस्या भएको छ”, पौडेलले भने ।

स्थानीय सरकार आएको २० महीना भइसक्दासमेत आफूहरूले विकासको अनुभूति गर्न नपाएको गुनासो स्थानीयवासीको छ । सङ्घीयताले करको बोझ थोपारेको, तर जनताको दैनिक आवश्यकता पूरा नगरेको स्थानीयवासी रमेश रेग्मीले बताए ।

उता, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले यस क्षेत्रमा खानेपानीको सुविधा पुर्याउन गाउँपालिकाले कोशिश गरिरहेको बताए । स्थानीयस्तरमा खानेपानीको मूलको खोजी गरी छिट्टै समस्या समाधान गरिने उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button