तनहुँको पर्यटन प्रवद्र्धनमा जोड

पोखरा न्यूज- २४, पुष ।

पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको ठूलो सहयोग आवश्यक रहेको बताए ।

“पोखरा जाने पर्यटकमध्ये केही पर्यटकलाई तनहुँमा राख्नसके पनि तनहुँको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्नेछ, उनले भने । समाजले तनहुँको पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयलाई दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले तनहुँको पर्यटन विकासका लागि पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकारले सन् २०२० का लागि चयन गरेको १०० वटा पर्यटकीय क्षेत्रमध्ये तनहुँको व्यास–परासर र सिद्धगुफा भिमाद क्षेत्र सूचीमा परेको छ । समाजका संस्थापक अध्यक्ष राजन पन्त तनहुँ क्षेत्रको पर्यटन विकासका लागि काठमाडौँ बस्ने व्यवसायीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए।

व्यास परासर क्षेत्रबाहेक बन्दिपुर, भानु, तनहुँसुर, छिम्केश्वरी, देवघाट, सेती नदी, थानी माईको मन्दिर, मिर्लुङकोट तनहुँका प्रमुख पर्यटकीय गन्तव्यस्थलहरु रहेका छन् । समाजका अध्यक्ष शेखरबहादुर थापा तनहुँको पर्यटन विकासका लागि तनहुँका पर्यटन व्यवसायी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । विसं २०७१ मा स्थापना भएको समाजले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएको समाजका महासचिव आशुतोष प्रधानले जानकारी दिए ।

साधारण सभाले गुप्तबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजका उपाध्यक्षमा शुक्रकुमार श्रेष्ठ, महासचिव दामोदर थापा, सचिव राजेन्द्र जिसी, कोषाध्यक्ष भुवन श्रेष्ठ, सहकोषाध्यक्ष सुमित्रा ढकाल र सदस्यमा केशवलाल श्रेष्ठ, क्षितिज गैरे, राजु गैरे र शुकबहादुर लामा भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button