बाग्लुङमा बोटबाटै सुन्तला बिक्री

पोखरा न्यूज- २५, पुष ।

बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।

बाग्लुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानथाप हुने गरेको छ ।

व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेका बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए । “सुन्तला खरिद गर्न दैनिक व्यापारी आउन थालेका छन्”, उनले भने, “उचित मूल्य दिनेहलाई किसानले बगाननै ठेक्कामा दिन थालेका छन् ।”

सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पुर्याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित भएको जिसीले बताए । बगानमै ठेक्का लिँदा प्रतिकिलो रु ४० देखि रु ५० सम्ममा सुन्तला बिक्री भइरहेको छ । बजारमा प्रतिकिलो रु १०० भन्दा बढीमा बिक्री हुने गरेको छ ।

डोके व्यापारीले समेत बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्ने गरेका छन् । सुन्तला बिक्रीबाट गत वर्ष झण्डै रु एक करोड गाउँमा भित्रिएको थियो । यसपाली गत वर्षभन्दा सुन्तला कम फलेको कृषक अनन्त खड्काले बताए ।

व्यापारी बगानमै आउन थालेपछि किसान उत्साहित बनेका छन् । “बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button