म्याग्दीमा विद्यार्थीका घरमा ओखर रोप्ने अभियान

पोखरा न्यूज- २५, पुष ।

म्याग्दीको धौलागिरि गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ । ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा वितरण शुरु गरिएको छ ।

गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष राजाराम सुवेदीले मङ्गलबार मराङमा रहेको जनविकास माविका ११२ विद्यार्थीलाई दुई वटाका दरले दाँते जातका ओखरका बिरुवा वितरण गरेर अभियानको शुरुआत गरेका हुन् । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एउटा घरमा दुई वटाका दरले नदोहोरिने गरेर ओखरका बिरुवा वितरण गरिने सुवेदीले बताए ।

गत असारको गाउँसभाले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयन गर्न गाउँसभाबाट रु दश लाख बजेट विनियोजन गरेको थियो । विद्यार्थीको स्मरणशक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रष्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा सहयोग पुग्ने अध्यक्ष थमसरा पुनले बताए । अधिकांश उच्च पहाडी भूगोलमा अवस्थित गाउँपालिकामा बालबालिकाको बौद्धिक क्षमता विकासमा उपयोगी मानिएको ओखर खेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनको सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष पुनको भनाइ थियो ।

उनका अनुसार आगामी आवमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई कम्तीमा एक वटाका दरले ओखरको बिरुवा वितरण गरिने छ । यस वर्ष बाहिर जिल्लाबाट बिरुवा ल्याएर वितरण गरिए पनि अर्को वर्षका लागि ७ नम्बर वडा हिलापोखरीका समबहादुर थापाले ओखरका बिरुवा उत्पादन शुरु गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button