पर्वतमा सुन्तला उत्पादनमा वृद्धि

पोखरा न्यूज –२६, पुष ।

जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ ।

जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष गत वर्षभन्दा चार प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको हो । जिल्लामा गत वर्ष तीन हजार २०० मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन भएको थियो । यस वर्ष झण्ढै १५० मेट्रिक टन सुन्तला बढी उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

पर्वतमा ७७० हेक्टर जमीनमा सुन्तला खेती हुन्छ । किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको उनले बताए । असिनाका कारण उत्पादन घटे पनि गत वर्ष फेरि सात प्रतिशतले वृद्धि भएको थियो । कृषकले व्यावसायिक रुपमा खेती गर्न थाल्नु, सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत वृद्धि हुँदै जानुले वर्षेनी उत्पादन बढ्दै गएको रेग्मीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला क्षेत्रलाई सुन्तला क्षेत्रका रुपमा विकास गरिँदै गएको छ । जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरापालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपाकिलाको भोक्सिङ, होश्राङ्दी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको पाङग्राङ र फलेवास नगरपालिकाको कुर्घा, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तलाखेती गरिँदै आएको छ ।

जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा यस वर्ष झण्डै पाँच करोडको सुन्तला उत्पादन भएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यी दुईवटै गाउँको मुख्य पेशा नै सुन्तला बनेको छ । पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतवाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ । पर्वतको सुन्तला पोखरा, चितवन, काठमाडौँ, काँकडभित्ता, बुटवललगायतका शहरमा निर्यात हुन्छ । कृषकको बोटमै सुन्तला खरीद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाइंले बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button