म्याग्दीको दुर्गम क्षेत्रमा घुम्ती शिविर

पोखरा न्यूज –२७, पुष ।

रघुगङ्गा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुविधाका लागि घुम्ती टोलीमार्फत गाउँपालिकाको सेवा वडास्तरमै दिन थालेको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झन्झट सेवासुविधा उपलब्ध गराउने उद्देश्यले पाखापानीस्थित ६ नं वडा कार्यालयमा बिहीबार घुम्ती शिविर सञ्चालन गरेको छ । शिविरबाट गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरणका साथै योजना सम्झौता र बैंक खाता सञ्चालनको सेवा दिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

पाखापानी र झिँका बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको शिविरमा सात योजनाको सम्झौता, सात वटाकै बैंक खाता सञ्चालन, ९४ जनालाई ज्येष्ठ नागरिक र ११ जनालाई अपाङ्ता परिचयपत्र वितरण गरिएको छ ।

मौवाफाँटस्थित गाउँपालिका कार्यालयसम्म आएर सेवा लिन नसक्ने सेवाग्राहीको सुविधाका लागि घुम्ती शिविर सञ्चालन गरिएको प्रशासकीय अधिकृत थापाले बताए । जनतालाई गाउँमै सिंहदरबार आएको अनुभूति दिलाउन र राहतको महसुस गराउन गाउँपालिकाका साथै बैंकका कर्मचारीलाई पनि वडामै लगेर सेवा दिएको अध्यक्ष भबबहादुर भण्डारीले बताए । शिविरमार्फत झिँदेखि टोड्के जोड्ने सडक मर्मत उपभोक्ता समितिलाई रु दुई लाख २१ हजार ३७० चेकमार्फत शिविरमै भुक्तानी गरिएको थियो ।

घुम्ती शिविरमार्फत गाउँमै सेवा पाएपछि समय र खर्चको बचतका साथै दुःख र झन्झटबाट मुक्ति पाएको झिँकी रामकुमारी थजालीले बताए ।

खानेपानी आयोजना निर्माण

म्याग्दीको मालिका गाउँपालिका–२ खवाङमा खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाइ परियोजना निर्माण भएको छ । फिनल्याण्ड सरकार र गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

रु ३६ लाख ७० हजार २८ को कूल लागतमा निर्माण भएको आयोजनाबाट ५५ घरधुरी लाभान्वित भएका मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् । खवाङको सामुदायिक विद्यालयमा पनि धारा निर्माण गरेर खानेपानी उपलब्ध गराइएको छ ।

मिटर जडित निजी धारा निर्माण गरेर घरघरमा खानेपानी वितरण गरिएको हो । यसअघि सार्वजनिक धारा, पँधेरा र मुहानको पानी उपभोग गर्दै आएका खवाङवासीलाई घरघरमा खानेपानी आउन थालेपछि सुविधा र समयको बचत भएको छ । एक वर्षअघि निर्माण शुरु भएको आयोजना सम्पन्न भएपछि बिहीबार उपभोक्ता समितिको आयोजनामा सामाजिक परीक्षण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button