अभिभावकको चासोले शैक्षिक गुणस्तर सुध्रने: मन्त्री चुमान

पोखरा न्यूज –२७, पुष ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सामुदायिक विद्यालयमा अभिभावकको चासो घटेकोमा चिन्ता व्यक्त गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित विष्णु माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सवमा मन्त्री चुमानले अभिभावकको चासो नरहेसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रन नसक्ने बताए । मन्त्री चुमानले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँदै प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको दिए ।

“पाठ्यक्रम निर्धारण र एसइई सञ्चालनको अधिकार प्रदेश सरकार मातहत आइसकेको छ, अन्य अधिकार पनि विस्तारै आउने क्रममा छ”, उनले भने । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न कार्ययोजनासहित अगाडि बढ्न लागिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश कमिटी सदस्य क्षितिज लामिछानेले शिक्षाको सुधारको लागि शिक्षक सबैभन्दा पहिला अनुशासित बन्नुपर्नेमा जोड दिए । विसं २०२४ मा स्थापित विद्यालयमा हाल ३१३ विद्यार्थी अध्ययनरत छन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आधुनिक शिक्षण विधि र नवीनतम सूचना प्रविधिको प्रयोगद्वारा सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button