बागलुङमा दाताको सहयोगबाट विद्यालय भवन निर्माण

पोखरा न्यूज –२८, पुष ।

बागलुङ जिल्लाको सदरमुकाममा रहेको कालिका कन्या मन्दिर माध्यामिक सामुदायिक विद्यालयमको पाँच शिक्षाप्रेमीको सहयोगमा पाँचकोठे पक्की भवन निर्माण भएको छ ।

सो भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसेनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, विमला भारी, समीरकुमारी श्रेष्ठ, श्रवणलाल शाक्यले प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले रु ३२ लाख ५० हजार उपलब्ध गराएका विद्यालयका प्रधानध्यापक धनराज सापकोटाले बताए ।

भवन निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा कृष्णकुमार श्रेष्ठले यसअगावै हस्तान्तरण गरेका थिए । नवनिर्मित भवनमा रु एक लाख बराबरको युरोगार्ड र ह्वाइट बोर्ड तथा पानी ट्याङ्कीलगायत सामग्री समाजसेवी मन्दिरा श्रेष्ठले, रु ४५ हजार बराबरको ह्वाइट बोर्ड ईश्वर श्रेष्ठले, सिद्धार्थ वनस्थली आवासीय मावि काठमाडौँका प्रिन्सिपल रुपक राजवंशीले ७० थान डेस्कबेन्च र कल्पना श्रेष्ठले रु ३० हजार मूल्य बराबरको युरोगार्ड प्रदान गरेका उनले जानकारी दिए ।

“विद्यालयका पूर्वप्रधानाध्यापक तथा वर्तमान सल्लाहकार संरक्षक रत्ना श्रेष्ठको पहलमा सो सहयोग जुटेको हो”, प्रधानाध्यापक सापकोटाले भने, “शिक्षापे्रमीको सहयोगले नै सुविधासम्पन्न भवनमा विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् ।”

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफूले पहल गरेको दाता वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए । कक्षा १ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज भएकामा अहिले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button