पोखरा – २३ सिद्धवराह माबिका छात्रालाई सेनिटरी प्याड वितरण

पोखरा न्यूज- २८, पुष ।

बटरफ्लाई फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका – २३ ठुलाखेत स्थित सिद्धवराह माध्यमिक विद्यालयका छात्रालाई सेनिटरी प्याड, प्याडविन, प्लास्टिक लगायतका सामग्री वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच पोखरा – २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीको समुपस्थितिमा विद्यालयका फोकल पर्सन सरिता पराजुलीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

विद्यालयमा प्याड वितरण गर्दै कार्यक्रम संयोजक राधा बरालले महिनावारी हुँदा छात्राहरुमा विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक असर पर्ने भएकाले त्यस्तो खालको समस्या कम गर्नका लागी आफुहरुले कार्यक्रम लिएर आएको धारणा राखिन । प्याड नहुदा विद्यालयमा छात्राहरु पहिलोपटक महिनावारी हुँदा समस्यामा पर्ने गरेको उनले बताइन । विद्यालयमा महिनावारी हुँदा कुनै पनि छात्राले अनुपस्थित हुनु नपरोस् र छात्राहरुको पढाई नबिग्रियोस् भनेर प्याड वितरण गरिएको बरालले जनाइन ।

कार्यक्रममा बोल्दै बटरफ्लाई फाउन्डेसनका निर्देशक गोविन्दराज पहारीले महिनावारी हेर्दा सानो र प्राकृतिक प्रक्रिया भएतापनि आवश्यक सामाग्री तथा ज्ञानको अभावमा छात्राहरुले कस्टपूर्ण समय बिताउनुपरेको बताए । महिनावारी हुँदा छुनुहुदैन, आफन्तलाई देख्नुहुदैन परै बस्नुपर्दछ अन्यथा देवता रिसाउँछन् भन्ने अन्धविश्वासी मान्यता अहिले पनि हावी भएको आफुले पाएको बताउदै पहारीले यो प्राकृतिक नियम भएकाले त्यस्तो अन्धविश्वासमा नलाग्न आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले फाउन्डेसनले विधालयमा भूकम्पको बेला शैक्षिक सामग्री वितरण गरेको स्मरण गर्दै छात्रछात्राको हितमा यस्ता खालका कार्यक्रमहरु सस्थाले गर्दै आएकोमा धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका सभापति विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुलीले विद्यालयका छात्राहरुलाई प्याड लगायतका सामग्रीको उचित प्रयोग गर्न आग्रह गर्दै घरेलु प्याड उद्पादन गर्न सघाउने खालको कार्यक्रम ल्याउन सके यसको दिगो रुपमा समाधान हुने बताए ।

जर्मन रोथ डिस्ट्रिक चेयरम्यान हर्वटको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालय कास्कीसंग समन्वय गरि फाउन्डेसनले सेनिटरी प्याड वितरण कार्यक्रम संचालन गर्दै आएको छ । जिल्लाका स्रोत बिद्यालय तथा स्रोत बिद्यालय अन्तर्गतका बिद्यालय गरि जम्मा ५० वटा सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण गर्ने योजना अनुसार फाउन्डेसनले कार्यक्रम गर्दै आएको छ ।

पोखरा -६ लेकसाइडमा रहेको फाउन्डेसनले हालसम्म ४९ वटा विद्यालयमा सेनिटरी प्याड, प्लास्टिकका झोला, डस्टबिन लगायतका सामग्री वितरण गरिसकेको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button