तनहुँको दुम्सीचौरमा कृत्रिम ताल निर्माण शुरु

पोखरा न्यूज- ३०, पुष ।

तनहुँको व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको ताललाई ‘नारेश्वर ताल’ नामकरण गरिएको छ ।

सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरपालिका र स्थानीयवासीको लागत सहभागितामा निर्माण हुने गर्न लागिएको सो ताल करिव रु ७८ लाखको लागमा निर्माण हुने अनुमान गरिएको छ ।

उपभोक्ता समितिमार्फत् काम गर्दा करीब रु ५५ लाखमा ताल निर्माण हुने सम्भावना देखिएकाले स्थानीय विष्णु थापाको अध्यक्षतामा ताल निर्माण उपभोक्ता समिति गठन गरिएको र सोही समिति मार्फत् ताल निर्माण गरिने नगरप्रमुख न्यौपानेले बताए । ताल निर्माणका लागि उक्त नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने स्थानीयवासीको जग्गालाई शेयरमा रुपान्तरण गरिने भएको छ ।

तीनसय मिटर लामोे तालको चौडाई २८ देखि ६८ मिटरको रहने इञ्जिनीयर हरिदत्त पौडेलले जानकारी दिए । उनका अनुसार तालको गहिराइ २.५ देखि ३ मिटर गहिरो हुनेछ । कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर पौडेलले बताए ।

उनका अनुसार तालमा ३० हजार घनमिटरसम्म पानी सङ्कलन गर्न सकिने सो ताल चैत महीनामै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । वडा नं १० का अध्यक्ष तुलसीराम सापकोटाले तालको बाँधमा पानी जम्मा गरी सिँचाइ र माछापालन गरिने जानकारी दिए ।

ताल प्राधिकरण बनाइने

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त ताल शिलान्यास गर्दै ताल प्राधिकरण बनाउने तयारी भइरहेको बताए । उनले प्रदेशभित्रका तालतलैया संरक्षण गर्ने उद्देश्यसहित ताल विधेयक ल्याइने तयारी भएको जानकारी दिए ।

गण्डकी प्रदेशमा नदी र ताल प्रशस्त रहेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी सरकारको रहेकोले ताल प्राधिकरण बनाएर त्यसको संरक्षण गरिने जानकारी दिँदै उनले भने, “पोखराका नौवटा ताललाई संरक्षण त गर्छौ नै साथै समग्र गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका तालतलैया र कुवालाई पनि व्यवस्थित गर्न कार्ययोजनासहित अगाडि बढेका छौं ।”

दुम्सीचौरमा निर्माण हुनलागेको कृत्रिम तालका लागि मन्त्रालयबाट समेत पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री लम्सालले अबको एउटै लक्ष्य जनतालाई विकास र समृद्धि दिने भएकाले सबै राजनीतिक दल विकासप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य सरिता गुरुङ, संविधानसभा सदस्य धु्रव वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेलले आर्थिक समृद्धिको ढोका खुलाउन ताल परियोजनाले सहयोग पुर्याउने धारणा व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button