उपराष्ट्रपति पुनद्वारा पोखरामा तामझामका साथ मापदण्ड विपरीतको होटल उद्घाटन

सामाजिक अपराध गर्ने काम भयो - पौडेल

पोखरा न्यूज -२, माघ । उपराष्ट्रपति नन्दबहादु पुन पासाङले पोखरामा मापदण्ड विपरित हालै निमार्ण भएको एक होटलको तामझामका साथ उद्घाटन गरेका छन् । पोखराको अम्मरसिंहचोक-बुद्धचोक सडक क्षेत्रमा हालै निमार्ण भएको १० तले होटल टाक्स ईन्टरनेश्नलको बुधबार पन्चे बाजाको साथमा औपचारिक रुपमा उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

उक्त होटलको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, कास्कीका प्रहरी प्रमुख ओम बहादुर राना लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै उपराष्ट्रपति पुनले छरिएर रहेको पुंजीलाई सहि ढंगले परिचालन गर्न सके देशको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने बताए । उनले पर्यटन, कृषि, जलबिद्युत र जडिवुटि नेपालको आर्थिक विकासको मुख्य चार आधार रहेको उल्लेख गरे । उनले भने“ नेपालमा पर्यटनको संरचना निकै थोरै सङख्यामा रहेको छ, होटल टाक्स जस्ता ठुला ठुला होटल, तारे होटलहरु निमार्ण हुनुपर्छ । ” नेपालको कृषिलाई औधोगिककरण र मेसिनिकरण गर्दै छरिएर रहेको पुजीलाई सहि ढंगले परिचालन गर्न सक्ने दक्ष जनशक्ति मार्फक लगानी गर्नुपर्नेमा उनको जोड थियो । क्षमतालाई मेसिनरी मार्फत उद्योग धन्दा तथा व्यवसायमा प्रयोग गर्दा त्यसबाट धेरै फाईदा लिन सकिने उपराष्ट्रपति पुनले बताए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले होटल तथा पर्यटन व्यवसायीहरुले मुनाफा भन्दा पहिला पर्यटकहरु पुन आउने गरी गुणस्तरिय सेवा दिनुपर्नेमा जोड दिए । उनले फेवाताल नजिक मात्र होटल वन्नु पर्छ भन्ने मान्यतालाई होटल टाक्ले फरक ढंगले प्रस्तुत गरेको जनाए । यस्ता ठुला होटल प्रदेशमा आवश्यक भएको बताउदै उनले गुणस्तरिय पर्यटकहरु भित्राउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

होटल संचालक मिन गुरुङले भूकम्प जादा होटलको जग हाल्न थाले पनि भुकम्प दिवसको अवसरमा ४ बर्ष पछि उक्त होटल संचालनमा ल्याउन सफल भएको बताए । होटलको सुरुमा जनता बैंकले बैंकिङ पाट्नरको रुपमा रहे पनि पछि एनआईसी एसिया, भिजन सहकारी, सिद्धार्थ तमु सहकारी लगायतका संघ संस्था र केहि व्यत्तिको साथले गर्दा उक्त होटल निमार्ण कार्य सम्पन्न गरेको उनले जनाए । १८ करोड लगानीमा संचालनमा आएको होटलमा हाल ३२ वटा रुम रहेको मिन बताउछन । प्रति रुम ५ हजार मुल्य रहेकोमा हाल उद्घाटनको अवसरमा भने ३ हजार ५ सय सम्ममा दिने संचालक गुरुङले जनाए । उनले विगत १८ बर्ष देखि टाक्स फोर्स इन्टरनेश्नल मार्फत लाहुरे ट्रेनिङ गराउदै आएका थिए भने विगत दुई बर्ष देखि लेकाली चुल्हो संचालनमा ल्याएका थिए । १० तलासम्म रहेको उक्त होटल वुटिङ संरचनामा, विभिन्न प्राकृति, संस्कृतिसंग जोडेर तला र रुमहरुको संरचना निमार्ण गरेको उनले बताए । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रको भूवनोटको आधारमा हालसम्म तीन तला वा ३५ फिटसम्म कुनै घर तथा भवन निमार्णको मान्यता दिएको छ ।

उक्त मापदण्ड भन्दा माथिका गगन चुम्वी भवन विभिन्न व्यक्ति तथा संस्थाहरुले महानगरपालिकालाई चुनौती दिदै धमाधम निमार्ण गरे पनि यस बिषयमा भने महानगरपालिका मौन बसेको छ । पोखरा महानगरपालिकाका सुचना अधिकृत गंगालाल सुवेदीले पोखरामा मापदण्ड विपरितका धेरै भवन तथा होटलहरु निमार्ण भए पनि आफुहरुले त्यसको नियमन गर्न नसकेको बताए । उनले भने “पोखरामा हालसम्म ३ तला अर्थात ३५ फिट भन्दा माथिका घर तथा भवनहरु निमार्ण भए सवै महानगरपालिको दृष्टिमा अवैधानिक हुन् ।” यसरी महानगरपालिकाले अवैधानिक निमार्ण भएको होटल तथा गगनचुम्वी भवनमा बैंक तथा वित्तीय  संघ संस्थाहरुले लगानी गर्नु अर्को चुनौति देखिन्छ ।

नागरिक समाज पोखराका निवर्तमान अध्यक्ष राम बहादुर पौडेलले मापदण्ड बिपरितको भवनको उपराष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिले उद्घाटन गर्नु कानुनको खिल्ली उडाउनु भएको बताए । उनले भने – “बिधमान कानुनमा भएको कुरालाई बेवास्ता गर्दै सामाजिक अपराध गर्ने काम होटलले गरेको छ त्यसलाई तल पार्न भिआईपी, तथा उच्चपदस्थ ब्यक्तिहरु प्रयोग हुदै आएको छ जुन हामीलाई मान्य छैन।” कानुन विधिको साशनको खिल्ली उडाउने सामाजिक अपराधी भएको र त्यस्तालाई समाजले पराजित गर्ने उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button