गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता : उपसभामुख शर्मा

पोखरा न्यूज -२, माघ ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको बताएकी छिन् ।

पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा ६०औँ अभिभावक दिवस समारोहको आज उद्घाटन गर्दै उनले समयसापेक्ष रुपमा प्रविधिमा आधारित व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

उपसभामुख शर्माले पछिल्ला समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको बताउँदै सङ्ख्याप्रति भन्दा पनि गुणस्तरीय शिक्षाका लागि चिन्तन हुनुपर्ने आवश्यकता औँल्याइन् । प्रत्येक सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि सोचमा परिवर्तन ल्याउनु आवश्यक भएकोमा उनले जोड दिइन् ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समयको गतिसँगै प्रविधिमैत्री शिक्षा आवश्यक भएको उल्लेख गर्दै त्यसका लागि प्रत्येक शिक्षकले आफूलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद आचार्यले स्थापनाको ५९औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह–अवरोह पार गरेको बताउँदै विद्यालयको समग्र उन्ननयनमा पूर्वविद्यार्थी, अभिभावक सबैको सामूहिक प्रयास आवश्यक हुने धारणा व्यक्त गरे ।

प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पारे ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य, महानगर शिक्षा परिषद्का सदस्य धनराज आचार्य, विद्यालयका पूर्वप्रअ कमलप्रसाद आचार्य लगायतले विद्यालायले कास्की दक्षिण भेगको शैक्षिक विकासमा खेलेको भूमिकाबारे चर्चा गरे ।

उक्त अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै शिक्षकलाई सम्मान गरिएको थियो ।

पूर्वविद्यार्थी मञ्च गठन

वार्षिकोत्सवकै अवसरमा शान्ति उदय माविका पूर्वविद्यार्थीको भेलाले भूतपूर्वविद्यार्थी मञ्च गठन गरिएको छ । मोती भुजेलको अध्यक्षतामा गठित १३ सदस्यीय मञ्चको उपाध्यक्षमा विष्णुहरि पौडेल, सचिवमा बैकुण्ठनाथ आचार्य, सहसचिवमा शकुन्तला आचार्य र कोषाध्यक्षमा वासुदेव पौडेल रहेका छन् ।

त्यस्तै विद्यालयका पूर्वविद्यार्थी एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी विशेष सल्लाहकार रहनुभएको नौ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button