लमजुङमा आमा समूहको सक्रियतामा घरबास

पोखरा न्यूज – ०७, माघ ।

बेंँसीशहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरबास (होस्टे) सञ्चालन गरेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास शुरुआत गरेका हुन ।

गाउँका पाँच घरमा पूर्वाधार तयार गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक समेत रहनुभएकी आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले बताइन् । सञ्चालक प्रत्येकले आमा समूहबाट घरबासका लागि रु ४० हजार ऋण लिएका छन् । “पूर्वाधार निर्माणमा रु दुई लाख खर्च भएको छ,” उनले भनिन्, “अन्य रकम होमस्टे सञ्चालकले आफै जुटाएका हुन् ।”

केही घरमा नयाँ तथा केहीमा पुराना कोठालाई व्यवस्थित गरिएको छ । प्रत्येक घरमा ६-६ जनालाई राख्न सकिने कोठा तयार गरिएको छ । “एकै पटक ३० जनासम्म पाहुना राख्न मिल्ने गरी संरचना निर्माण गरिएको छ,” गुरुङले भनिन् । पाहुना बढी भए गाउँका अन्य घरमा राख्ने व्यवस्था मिलाइएको छ ।

कोदोबाट बनाइएको ढिँडो, रोटी, लोकल कुखुराको मासु, मकै, फर्सी, बन्दागोभी, काउली, ब्रोकाउली, आलुलगायत अग्र्यानीक परिकार पाहुनालाई खुवाइने घरबास सञ्चालक बताउँछन् । एक रातको प्याकेज एक जना बराबर रु ५५० तोकिएको छ । स्थानीयवासी दुर्गाबहादुर गुरुङका अनुसार गाउँमा आउने पाहुनालाई घाँटु, कृष्णचरित्र, झ्याउरेलगायत नाच देखाइन्छ ।

पुमा गाउँमा ४८ परिवारको बसोबास छ । स्थानीयवासीले आयआर्जन बढाउन र पर्यटन प्रवद्र्धन गर्न सामूहिक चियाखेती तथा कफीखेती थालेका छन् । प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । बेँंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल घलेगाउँ जाने बाटोमा रहेको पुमा गाउँमा विकासका सम्भावना धेरै रहेको बताए । बेँंसीशहरबाट बिम्दाबेँंसी हुँदै ११ किलोमिटरको दूरीमा पर्ने पुमा गाउँ एक घण्टामा पुगिन्छ । चण्डीस्थान हुँदै समेत आठ किलोमिटरको दुरीमा रहेको पुमा गाउँ पुग्न सकिन्छ । चालू आर्थिक वर्षमा सो क्षेत्रको सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button