तनहुँमा बाटो खन्ने नाममा प्राकृतिक स्रोतको अवैध उत्खनन

पोखरा न्यूज – ११, माघ ।

तनहुँको म्याग्दे गाउँपालिका–५ ले कच्ची बाटो खन्ने नाममा प्राकृतिक स्रोतको अवैध उत्खनन गरेको छ । सोही वडाको धुरपुरेटार भन्ने स्थानमा कच्ची सडक खन्ने भन्दै वडा कार्यालयले अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरी सङ्कलन गरेको हो ।

पहिल्यै बाटो खनिसकेको उक्त स्थानमा फेरि १२ मिटरको बाटो खन्ने भन्दै वडा कार्यालयले शुक्लागण्डकी नगरपालिका–९ दोभानको शिवशक्ति क्रसर उद्योगमार्फत सैयों टिप गिट्टी, बालुवा उत्खनन गरी सङ्कलन गरेको भेटिएको छ ।

स्थानीय बासिन्दाको चर्काे विरोध भए पनि वडाध्यक्ष शिवबहादुर आलेले एकलौटी निर्णय गरी अवैधरूपमा गिट्टी, बालुवा सङ्कलन गरेको स्थानीयवासी बसन थापाले बताए । डाँडामा रहेको तीन घरधुरीका लागि १२ मिटर चौडाइको बाटो खन्ने भन्दै वडा कार्यालयले बजेट विनियोजन गरी उक्त क्रसर उद्योगलाई जिम्मा दिई अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरेको थापाको भनाइ छ ।

उनले भने, “उक्त डाँडामा पहिल्यै बाटो पुगिसकेको छ । कारण जे बताइए पनि उद्देश्य भनेको प्राकृतिक स्रोतको उत्खनन गरी ओसारपोसार गर्नु नै रहेको छ ।” वडाध्यक्ष आलेले नयाँ बाटोको ट्र्याक खन्ने क्रममा प्राकृतिक स्रोतको कच्चा पदार्थ निस्किएको बताए । उनले यसबारेमा गाउँपालिकामा उजुरी परेपछि हालै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको समूहले अनुगमन गरी उत्खननमा रोक लगाइसकेको जानकारी दिए।

सयौँ टिप सङ्कलन गरिएको उक्त कच्चा पदार्थ गाउँपालिकाको आगामी माघ १६ गते बस्ने गाउँसभाको निर्णयमार्फत बोलपत्र आह्वान गरी बिक्री गर्ने थापाले बताए  । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आफूहरूले प्राकृतिक स्रोतको उत्खनन गर्ने कुनै निर्णय नगरेको बताए । उनले वडाले बाटो खन्ने क्रममा केही कच्चा पदार्थ सङ्कलन भएको हुनसक्ने भन्दै यसबारेमा गाउँसभाले निर्णय गर्ने बताए  ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यसबारेमा आफूलाई कुनै जानकारी नभए पनि कसैले पनि अनुमति नलिइकन प्राकृतिक स्रोतको उत्खनन गर्न नपाउने बताए । उनले भने, “के रहेछ, म बुझ्छु, तर कसैले पनि अनुमति नलिइकन यसरी कच्चा पदार्थको उत्खनन र सङ्कलन गर्न पाउँदैन ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button