तनहुँमा एक सय ५० प्रजातिका बीउ संरक्षण

पोखरा न्यूज – १३, माघ ।

तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा स्थापित सामुदायिक बीउ बैंकमा १५० प्रजातिका बीउ संरक्षण गरिएको छ ।

परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले विसं २०६८ मा स्थापित उक्त बैंकमा ती बीउ संरक्षण गरिएको सामुदायिक बीउ बैंक केन्द्रीय समन्वय समिति सदस्य सीताराम बजगाईँले जानकारी दिए ।

भावी पिँढीको सम्भावित खाद्य सुरक्षाका लागि जैविक विविधता संरक्षणमार्फत स्थानीय बाली संरक्षण गर्ने उद्देश्यले उक्त बैंक स्थापना गरिएको उनले बताए । जैविक विविधता र कयौँ असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली लोप हुँदै गएपछि जिल्ला कृषि विकास कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा विसं २०६२ मा जैविक विविधता संरक्षण समिति गठन गरिएको थियो । सोही समितिको सक्रियतामा उक्त ठाउँमा सामुदायिक बीउ बैंक स्थापनाको अवधारणा ल्याइएको हो ।

उक्त बैंकमा अन्नबालीतर्फ धान, मकै, कोदो, जौ, फापर, कोशेबालीतर्फ बोडी, भटमास, गहत, केराउ, मस्याङ, बकुल्ला, रहर, र सिमीको बीउ सङ्कलन गरिएको छ । तेलहन बालीतर्फ तिल, तोरी, आलस, जरेबालीतर्फ पिडालु, तरुल, ओल र लहरे तथा अन्य तरकारी बालीतर्फ फर्सी, घिरौला, लौका, चिचिण्डो, कुभिण्डो, काँक्रो, तिरइ, करेला, भिण्डी, रायो, लुडे र उखुको बीउ सङ्कलन गरिएको छ भने मसला बालीतर्फ खुर्सानी, सुप, सिलाम, भाङ र लसुनलगायत बीउ सङ्कलन गरिएको छ ।

बैंकमा सङ्कलन गरिएका विभिन्न प्रजातिका बीउबाट विशेषज्ञले नयाँ जात निकाल्न लैजाने गरेको बीउ बैंकका अध्यक्ष दीपकराज अधिकारीले जानकारी दिए ।

सामुदायिक बीउ बैंकका लागि सामथ्र्य नेपालले रु ३५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिदिएको छ । अधिकारीका अनुसार भूकम्प प्रतिरोधात्मक उक्त भवनमा उन्नत जातका बीउ भण्डारण गरिएको छ ।

लिबर्ड पोखरा र स्थानीय जनताको आर्थिक सहयोगमा रु छ लाखको लागतमा दुईकोठे कार्यालय भवनसमेत निर्माण गरिएको छ । अधिकारीका अनुसार बीउ बैंकमा सुरक्षित राखिएका विभिन्न प्रजातिका बीउ कृषकलाई निःशुल्क रूपमा वितरण गरिएको छ भने खरीद गर्न चाहनेलाई समेत बिक्रीको व्यवस्था मिलाइएको छ ।

एक हजार ६१३ भूकम्पपीडित परिवारलाई बीउ वितरण गरिएको र स्थानीय बालीको महत्व, गडौले मल, गोठेमल प्रयोग र जैविक विषादीको प्रयोगबारे कृषकलाई सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।

बीउ बैंकमा रहेका बीउ ग्रेडिङका लागि एक सेट ग्रेडिङ मेसिन, डिजिटल तराजु, बीउको चिस्यान नाप्ने उपकरण र उमार शक्ति परीक्षण उपकरणसमेत खरीद गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button