तनहुँमा लागुऔषधसहित तीन पक्राउ

पोखरा न्यूज- १४, माघ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित तीन युवालाई बन्दीपुर गाउँपालिका–५ विमलनगरबाट आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका–५ का २७ वर्षीय धर्मेन्द्र मल्लाह, धादिङ घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने १८ वर्षीय विशाल थापा मगर र गोरखा घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने १८ वर्षीय मनिष कुँवर रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पृथ्वीराजमार्गअन्तर्गत दमौली–आँबुखैरेनी सडकखण्डको विमलनगरमा सवारी चेकजाँचका क्रममा सुनौलीबाट पोखरातर्फ आउँदै गरेको लु१ख ७१०५ नं को यात्रुवाहक बसमा सवार धर्मेन्द्र मल्लाहलाई लागुऔषधसहित पक्राउ गरिएको उनले बताए ।

उक्त लागुऔषध विशाल थापा मगर र मनिष कुँवरले मगाएको धमेन्द्रले प्रहरीसमक्ष बयान दिएपछि उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । धर्मेन्द्रले पेट तथा कम्मरको भागमा पत्रिकाले बेरेर सेतो टेप टाँसी लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम एक सय एम्पुल, फेनरागन एक सय एम्पुल र मफिन एक सय एम्पुल गरी तीन सय थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धर्मेन्द्रसँग आइएमईमार्फत पैसा मगाई विशाल र मनिषले लागुऔषध मगाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button