पोखरामा प्रथम ल्होसार महोत्सव शुक्रबारदेखि, सम्पूर्ण तयारी पुरा

पोखरा न्यूज – १७, माघ । 

नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रबारबाट पोखरामा प्रथम ल्होसार महोत्सव हुने भएको छ ।

माघ २६ गते सम्म ९ दिन चल्ने महोत्सवको तयारी पुरा भएको संयोजक अमन तामाङले जानकारी दिएका छन् । महोत्सवको तयारीका बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । ‘आफ्नो जाति, भाषा, धर्म, संस्कार, पर्व, परम्परा, रहनसहन आदि समस्त सभ्यताको एकिकृत स्वरुप आधुनिक नेपालको पहिचान हो’ संयोजक तामाङले भने ‘आदिकालदेखि मुलुकको विभिन्न स्थानमा छरिएर रहेका तामाङहरुले आफ्नो सभ्यता र संस्कृतिको ऐतिहासिक मुल्य मान्यतालाई मन्जुश्री सम्वत मार्फत संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हौँ ।

नेपाल तामाङ घेदुङ नालामुख इकाइका अध्यक्ष लघुराम तामाङले घरमा मनाउँदै आएको ल्होसारलाई मन्जुश्री सम्वत २८५५ औँ सोनम ल्होछारको उपलक्ष्यमा संयुक्त रुपमा आपसी सद्भाव र भाईचाराको अभिवृद्धि गरि मनाउने उद्धेश्यले प्रथम ल्होछार महोत्सव–२०७५ आयोजना गर्न लागेको बताए । महोत्सवको पहिलो दिन पोखराका बिभिन्न ठाउँहरुबाट झाँक्रीसहितको र्याली निस्कने छ । र्याली प्रदर्शनी केन्द्रमा पुगेपछि शुभारम्भ समारोह हुने छ ।

महोत्सवमा तामाङ संस्कृति र सभ्यतासंग संबन्धित विषयवस्तुका अलावा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु, यूवा वर्गमा लक्षित पप तथा आधुनिक कन्सर्ट, विद्यालय स्तरीय नृत्य प्रतियोगिता,सेलो नृत्य प्रतियोगितदोहोरी, गित प्रतियोगिता, दैनिक जीवनसंग सम्वन्धित घरायासी प्रयोजनका आवश्यकीय सामाग्रीहरुको स्टल रहने आयोजकले जनाएको छ ।
माघ १८ देखि २६ गते सम्म हुने महोत्सवमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समाबेश गरिएको छ ।

महोत्सवमा बिभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती रहनेछ । महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता पनि समावेश गरिएको छ । नृत्य प्रतियोगिताको विजेताले रु ३० हजार, गोल्डेन क्याप र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै द्धितिय हुनेले रु २० हजार, ट्रफी र प्रमाणपत्र, तृतिय हुनेले रु १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महोत्सवमा बाल उद्यान, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य प्रतियोगिता, यसअघिदेखि नै निरन्तर चल्दै आएको चर्चित नृत्य प्रतियोगिता, नेपालमै पहिलो पटक कमेडी नृत्य प्रतियोगिता, जादु, द्धारा दर्शकको मनोरञ्जन गराइने छ । वल्र्डडान्स लिग नेपाल क्वालिफायरका विजेताहरुको प्रस्तुती, जनजाती म्युजियम, तामाङ संस्कृतिसंग सम्वन्धित स्टलहरु, स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको पप तथा आधुनिक कन्र्सट रहेका संस्थाका सचिब टेकबहादुर तामाङले जानकारी दिए ।

पोखरा प्रर्दशनी केन्द्रमा हुने महोत्सवमा कलाकार तथा व्याण्डहरु प्राजेक्ट वान, मंगोलियन हार्ट, नरेन लिम्बु, विजय लामा, आरम्भ तामाङ, मिस्टर डि, अल्मोडा राना उप्रेती, डिमर्चा, भाइ गुरुङ, छेवाङ लामा, निनाद, र मिलन लामाको प्रस्तुती रहने छ । यस्तै लोकदोहोरी तर्फ शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ, करन तामाङ, माया पुन, ज्योती मगर लगायतको प्रस्तुती रहने छ । दिपक थापाको जादु तथा पोखरेली माग्ने बुढाको हास्य प्रहसन पनि महोत्सवमा रहने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button