विश्व सिमसार दिवस

सरकार अब परिणाम निकाल्ने गरी अघि बढ्छः मन्त्री बस्नेत

डिएनबी, पोखरा न्यूज – १९, माघ ।

वन तथा वातावरण मन्त्री शत्ति बस्नेतले सरकारले अब परिणाम निकाल्ने गरी अघि बढ्ने बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा शनिबार पोखरामा आयोजना भएको सिमसार जलवायु परिवर्तन बिषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एक बर्षमा सरकारले विभिन्न नियम कानुन बनाउन व्यस्त भएको बताउदै अब सरकार परिणाम मुखि हुने गरी अघि बढ्ने बताएका हुन् ।

सरकारले एक बर्ष भित्रमा आन्तरिक तयारी गरेसँगै अब परिणाम देखिने गरी काम गर्न चाहेको उनले बताए । उनले भने “नयाँ राजनीतिमा प्रबेश गरेको एक बर्ष हुदा जनताले आशा गर्नु स्वभाविक हो, तर हामीले विकासको आधारको लागि एउटा फ्रेम तयार पारेका छौं, फागुन २१ भित्र सिमा तोकिएकोले त्यस पछि हामी सवै ढंगबाट एक्सनमा अघि बढ्ने छौं ।” केही जनतामा फ्रस्टेसन् देखिएको बताउदै मन्त्री बस्नेतले तयारीको पहिलो एक बर्षमा धेरै आशा गरिएपनि अब भने सरकारले काम गर्ने भएकोले विश्वास गर्न आग्रह गरे ।

राष्ट्रिय महत्व राख्ने पर्यटकीय स्थल फेवाताल संरक्षणमा स्थानिय, प्रदेश र संघिय सरकारको समन्वयकारी भुमिकामा मात्र तालको संरक्षण हुने मन्त्री बस्नेतले बताए । सिमित श्रोतसाधन भएकोले भएको सिमित श्रोत साधनलाई अधिक रुपमा प्रयोग गरी वातावरणलाई असर नपर्ने गरी सरकारले काम गर्न चाहेको उनले जनाए । प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई समेत ख्याल गरी प्राकृतिक श्रोतसाधन माथि वातावरणीय सन्तुलन राख्दै प्रयोग गर्न मन्त्री बस्नेले आग्रह गरे ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आगामी ६ महिना पछि प्रदेशमा धेरै काम हुने दाबी गरे । उनले भने “ अब सरकारले कुरा मात्र होईन, काम गर्ने हो, अबको ६ महिना वेट गर्नुहोस, हामीले प्रदेशमा धेरै विकास गरेरै छाड्छौं । ” फेवाताल संरक्षण गर्ने जिम्मा सरकारको भएको उनले बताए । वर पिपल वातावरणसँग जोडिएकोले प्रदेश सरकारले वरपिपल संरक्षणको लागि विधेयक ल्याएको मन्त्री लम्सालले बताए । गण्डकी प्रदेशका सांसद मन बहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण गर्र्ने समुदायलाई रोजगार, आयआर्जनमा सहज पार्ने भनि विभिन्न प्रतिवेदनमा उल्लेख भए पनि कार्यान्वयन नभएको दाबी गरे ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखराको फेवाताल संरक्षणको नाममा अध्ययन प्रतिवेदन धेरै बने पनि प्रभावकारी ढंगले काम भने हुन नसकेको गुनासो दाबी गरे । उनले भने “ फेवाताल संरक्षणमा हाल भागबण्डा भएको छ, यसले गर्दा यसको संरक्षण कस्ले गर्ने हो, अब नाप्न, देख्न सकिने गरी काम गर्नु पर्छ । ” फेवातालको पानी मुनि व्यक्तिको नाममा लालपूर्जा भएकोले आफुहरुलाई ताल संरक्षणमा ठुलो समस्या आई परेको मेयर जिसीले गुनासो गरे ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले विश्वका ५० प्रतिशत जसो सिमसार क्षेत्रमा पर्यटकहरु घुमघाम गर्ने गरेको बताए । नेपालमा ५.५७ प्रतिशत सिमसार क्षेत्र रहेको उल्लेख गर्दै उनले नेपालका सिमसार क्षेत्र संरक्षण गर्नु पर्ने बताए । राष्ट्रिय वन्यजन्तु विभागका उप–महानिर्देशक गोपाल प्रसाद भट्टराइले तराईमा ४, उच्च पहाडीमा ४ र पहाडी क्षेत्रमा २ गरी नेपालका १० ठाँउमा रामसार क्षेत्रमा सुचिकृत भएको बताए । जलवायू परिवर्तनले गर्दा सिमसार क्षेत्रमा समेत असर परेको उनले बताए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका बिष्णु प्रसाद भण्डारीले सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने सन्देस दिन पनि तीन तहकै सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रम पोखरामा आयोजना गरिएको बताए । वन मन्त्रालयका सचिव विश्वनाथ ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button