पोखरा महानगरद्वारा आगजनीको भर्त्सना

पोखरा न्यूज – १९, माघ ।

पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निसान पिकअप भ्यान कार्यालयको पूर्वनिधारित काममा प्रयोग भइरहेको अवस्थामा शनिबार पोखराको मासबारमा एक आपराधिक जत्थाले आगजनी गरेको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले शनिबार जारी गरेको विज्ञप्तिमा सरकारी कामको सिलसिलामा गुडिरहेको सवारी साधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली नागरिकले तिरेको करबाट आर्जित सरकारी सम्पत्तिमा क्षति पुर्याएर महानगरको कामकारबाहीमा अवरोध पुर्याउने कार्यको घोर भर्त्सना गरिएको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र उद्देश्य बमोजिम महानगरबासीलाई भरपर्दो सेवा सुविधा उपलब्ध गराउने कार्यमा महानगरपालिका निरन्तर लागिरहेकै छ,’ विज्ञप्तिमा भनिएको छ,‘पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उनलाई लिन जाने क्रममा उक्त सवारी साधनलाई आगजनी गरी पूर्ण क्षति गराइएको आम नागरिकलाई जानकारी गराउँदछौं ।’

उक्त सवारी साधन महानगरपालिकाकै काममा प्रयोग भएको पनि विज्ञप्ति मार्फत महानगरपालिकाले स्पस्ट पारेको छ । ‘लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र विरोध जनाउन पाइने अधिकार सुरक्षित हुँदाहुँदै यस प्रकारका आपराधिक र गैरकानुनी कार्य संविधान र प्रचलित कानुन विपरीत भई दण्डनीय हुने ठहर्छ,’ प्रवक्ता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो घटनाको तत्काल अनुसन्धान गरी संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्न पोखरा महानगरपालिका सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button