‘प्रविधियुक्त शैक्षिक विकासमा जोड’

पोखरा न्यूज – १९, माघ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको युगमा प्रविधियुक्त शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले अब परम्परागत शैलीको शिक्षालाई पूर्ण रुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले प्रत्येक स्थानीय तहमा एक–एक वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन हुनुपर्ने बताउँदै कम्तीमा माध्यमिक तहको शिक्षा पूरा गरेपछि कुनै न कुनै विषयमा दक्ष बनोस् र रोजगारी वा स्वरोजगारमूलक काम गर्न सकोस् भन्ने उद्देश्यका साथ तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले अब शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो नेपाल बन्न नहुने बताउँदै स्वदेशमै लिएको शिक्षाले स्वदेशमै रोजगार गर्न सक्ने वातावरण निर्माण गर्न सकेमा मात्र मुलुकले छिटो फड्को मार्ने उनको भनाइ रहेको थियो । अध्यक्ष तिमिल्सिनाले मुलुकले बिस्तारै गति लिँदै गएको बताउँदै अबको पाँच वर्षभित्रमा नागरिकले अपेक्षा गरेभन्दा पनि धेरै विकास हुने बताए ।

तमिल्सिनाले अबको पाँच वर्षभित्रमा पर्वतका अधिकांश सडक कालोपत्र गर्ने, घरघरमा खानेपानीलगायत आधारभूत सुविधा पुर्याउनका लागि आफू निरन्तर सक्रिय रहने बताए । उनले पूर्णेश्वर माविमा प्राविधिक शिक्षालय सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद पदम गिरीले तीनै तहका सरकारको आवश्यक समन्वय र सहकार्यबाट समृद्ध पर्वत जिल्ला बनाउनका लागि निरन्तर लागिपरेको बताए । उनले अबको पाँच वर्षभित्रमा सरकारले गरेका सबै प्रतिबद्धता र थालेका योजना सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह पनि गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button