पर्वतमा नमूना खानेपानी आयोजना शुरु

पोखरा न्यूज – २०, माघ ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ ।

कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना शुरु भएको हो । मोदीखोलाको किनारमा रहेको सिल्मीको छिपछिपे मूलको पानी ट्याङ्कीमा सङ्कलन गरी गाउँसम्म लिफ्टमार्फत तान्ने तयारीस्वरुप आयोजनाको निर्माण कार्य शुरु गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमार्फत आयोजना निर्माण सम्पन्न हुन लागेको हो ।

कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार आयोजनाको कूल लागत रु साढे ६ करोड रहेको छ । पीपलटारीका ३०० परिवार आयोजनाबाट लाभान्वित हुने जनाइएको छ । मूलदेखि एक हजार ९८० मिटर माथि रहेको बस्तीसम्म पानी पुर्याउन तीन वटा ट्याङ्की निर्माण गरिने भएको छ । दुई चरणमा पानी पम्प गरेर गाउँसम्म पुर्याउन थालिएको डोटेलले जानकारी दिए ।

उक्त योजना दुई वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ । योजनाको पानी पीपलटारीका पिप्ले, वितलब, माझीगाउँ, गैरावारी, चाक्लेकुला, रोहोटेपानी, तमादी लगायतका बस्तीमा एक घर एक धारामार्फत वितरण गरिने छ । आयोजनाका लागि यस वर्ष रु ४५ लाख विनियोजन भएको छ भने अर्को वर्ष योजनाको लागतअनुसारको बजेट विनियोजन गरिने बताइएको छ ।

आयोजनाको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन् । आयोजना निर्धारित समय अगावै सक्न निर्देशन दिँदै उहाँले स्थानीयवासीको खानेपानीको समस्या टार्न आयोजना सफल हुने बताए । उनले नेपालमा कुनै पनि विकासका आयोजना समयमै पूरा नहुने समस्या बढ्दै गएकामा असन्तुष्टि व्यक्त गरे ।

पर्वतमा यसअघि जलजलाको माझफाँट, कुश्मा नगरपालिकाको ठूलीपोखरी र महाशिला गाउँपालिकाको होश्राङदीमा लिफ्ट खानेपानी योजना सञ्चालनमा आएका छन् । पानीको स्रोत नभएका ठाउँमा सो प्रविधि लाभदायी हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख डोटेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button