पोखराको जुलोजिकल पार्क र वन निर्देशनालयबीच सम्झौता

पोखरा न्यूज -२२, माघ ।

पोखरा युनाइटेड क्लबको पहलमा पोखरा–३१ स्थित पचभैयामा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि आज सम्झौता गरिएको छ ।

जुलोजिक पार्क र वन निर्देशनालय गण्डकी प्रदेशबीच रु एक करोड ५० लाख बजेटका लागि सम्झौता गरिएको हो । एक कार्यक्रमबीच वन निर्देशनालयका प्रमुख प्रकाश लम्साल र जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी वन्यजन्तु उद्धार केन्द्रका लागि काम शुरु भएको छ ।

सम्झौतानुसार छुट्याइएको बजेट रकम वन्यजन्तु उद्धार केन्द्रमा मृगको खोर, वन्यजन्तुका लागि पानी ट्याङ्की, बाँदरका लागि खोर र विभिन्न खोरसम्म पुग्ने गोरेटो बाटो निर्माणका लागि रु ९६ लाख २५ हजार २०७ को निर्माण सम्झौता भएको पार्कका अध्यक्ष ब्रखेलले जानकारी दिए ।

मृगको खोरमा रु ५० लाख ३६ हजार ७७, वन्यजन्तुका लागि पानी ट्याङ्की निर्माणमा रु दुई लाख पाँच हजार ४२८, बाँदरको खोरका लागि रु २७ लाख ३७ हजार ४०५ र विभिन्न खोरसम्म पुग्ने गोरेटो बाटोका लागि रु १६ लाख ४६ हजार २९७ रकम छुट्याइएको छ ।

उक्त रकमबाहेक स्थानीयवासीको २० प्रतिशत जनसहभागिताबाट केन्द्रको पहिलो चरणको काम आगामी असारभित्रमा सम्पन्न गराइसक्नुपर्ने उल्लेख गरिएको छ । पार्कमा दोस्रो चरणमा मयूरको खोर, घाइते वन्यजन्तुको उपचार कक्ष, बिरामी तथा घाइते जनावर बोक्ने स्वचालित स्ट्रेचर, भालुको खोर र उद्धार कक्षको प्रवेशद्वार निर्माणका लागि सम्झौता भएको वन निर्देशनालयका प्रमुख लम्सालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button