बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग

माघ मसान्तसम्म व्याजदर नघटे आन्दोनल गर्ने चेतावनी

पोखरा न्यूज- २३, माघ ।

पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा व्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै व्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म व्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघ-संस्थाहरुसँग सहकार्य गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । संघद्धारा जारी विज्ञप्तिमा व्याजदरमा भएको अत्यधिक बृद्धिले उद्योग-व्यवसायमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको उद्योग व्यवसायबाट हातै धुनु पर्ने स्थिति आएको जिकिर गरिएको छ ।

‘ऋणको व्याजमा बृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ’, संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘व्याजदर बृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्था समेत आएको छ । ’ व्यापार-व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुस्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म व्याज पाइने अवस्था सृजना हुनु अर्थतन्त्रको लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघे बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाउँदा भएको समस्याबारे बुधबार एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको बैठकमा बोल्ने व्यवसायीहरुले व्याजदर बढ्दा व्यवसाय गर्न कठिन भएको धारणा राख्दै व्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए ।  कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी सन्तोष पोखरेलले व्याजदर बढ्दा व्यवसाय चौपट भएको धारणा राखे । एकतर्फीरुपले बढाइएको ब्याजदर नघटाउने हो भने व्यवसाय बन्द गर्नुको विकल्प नभएको उनको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले व्याजदर घटाउन निजी क्षेत्रले सामूहिक रुपले दवाब दिनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको धन्यवाद तथा महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा व्यवसायीहरु विकल तुलाचन, पवित्रबहादुर नेपाली, बनमाली आचार्य, प्रेम दाहाल, तारानाथ ढुंगाना, कमलप्रसाद पौडेल,जगदिश अधिकारी, बलराम तिमिल्सिना, चुडामणि अधिकारी, माधवप्रसाद तिवारी,यमबहादुर पौडेल, उदयबहादुर केसी, रुपनारायण भुजेल,विष्णुप्रसाद तिमिल्सिना,राजन गोंगजु शुष्मा पाण्डे, हरि प्रसाद पाण्डे लगायतले ब्याजदर नघटे कडा र सशक्त आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button